Monday, March 5, 2012

जनआन्दोलनअघि, जनआन्दोलनपछि


                      अनिरूद्र न्यौपाने 
प्रजातन्त्रको नाम फेरिएर लोकतन्त्र हुने बाहेक २०४६ को जनआन्दोलनले ल्याएको उपलव्धीमा २०६२/६३ को अर्को जनआन्दोलनले केही थप्न नसकेको अनुभव सर्वसाधारण जनताले गर्न थालीसकेका छन् । जुन अपेक्षा र चाहनाले  लाखौं जनता सडकमा उत्रिए, ति पुरा हुन प्रायः असंभव भएको छ । २०६३ बैशाख ११ गते राती सडकमा पोखिएको हर्ष, उमंग र उत्साह अहिले पुरै निराशामा परिणत भईसकेको छ ।  जनआन्दोलनको औचित्यतामाथि प्रश्न गर्नेहरूमा जनअधिकारका लागि सडकमा उर्लीएको भिडमाथि अन्तिम बल प्रयोग गर्न निर्देशन दिने कठोर कमल थापा, जसको त्यसताकाको अनुहार संझदा अझै जिउ सिरिंग हुन्छ र उनका अनुयायी भन्दा अगाडी ज्यानको बाजी लगाएर गोलीको बर्षा भईरहेको सडकमा उत्रिएका हजारौं नरनारी, जनआन्दोलनका घाईते र शहिदका परिवार  छन् । यदि आत्मा जिवीत रहन्छ भने देश र जनताको भलाईका लागि ज्यान दिएका वीर सहिदका आत्माले यतिबेला जनआन्दोलनमा सहभागी भएर चोला फेरेकोमा पक्कै पश्चाताप गरिरहेका होलान् । 

जनआन्दोलपछि जंगलको माओबादी एक नम्बरको दल भएर सत्ताको मुख्य हर्ताकर्ता बन्यो, नारायणहिटीका राजा ज्ञानेन्द्र अली परको दरवारमा डेरा सरे, उहिलेको ठूलो दल काँग्रेस अली सानो दल बन्यो र स्वभावतः एमाले काँग्रेसभन्दा पनि सेख्खै सानो दल बन्यो । जातीय, क्षेत्रीय र साप्रदायिक संबेदनामा राजनीतिक रंग भर्न जान्नेहरूले भुरा दलहरू मार्फत संसदमा आफ्नो प्रवेश संभव तुल्याए परिणामतः आधा दर्जन दलको प्रतिनिधित्व हुने उहीलेको संसदको ठाउँ झण्डै तीन दर्जन जति दलको प्रतिनिधित्व भएको नयाँ जम्वो संसदले लियो । जनआन्दोलनले ल्याएका देखिने उपलब्धी यिनै हुन् जसको औचित्यतामाथि प्रश्न उठाउनबाट जनाधिकारका लागि सडकमा उत्रिएका हामीजस्ता नागरिकलाई इतिहासले रोक्दैन ।    

कुनै दलको आकार घटबढ गराउन तथा सक्ती र सत्तामा पुग्नेको अनुहार फेर्न बहुदलीय प्रतिस्पर्धात्मक ब्यवस्था सहितको २०४७ कै संबिधान पर्याप्त थियो भलै त्यो आन्दोलन नभएको भए माओबादीको ठाउँमा अर्को कुनै दल ठूलो बन्दो हो । राजाको डेरा सार्न र दलको आकार घटबढ गराउन वा सत्ताको नयाँ मालिक खडा गर्नकै लागि त्यत्रो ठूलो आन्दोलनको जरूरत थिएन । २०५ जनाले निश्चित अवधी राज्य श्रोतको भोगचलन गर्न पाउने ब्यवस्थाको सट्टा सिंहदरवारको सभाहलले थेग्न नसक्ने गरी ६०१ को हुल जन्माउन र तिनले अनन्तकालसम्म राज्यको ढुकुटीको खटन गर्न पाउने अवस्था ल्याउनकै लागि दोश्रो जनआन्दोलन आवस्यक थिएन । बर्षेनी सरकारका लागि लाखौं भाडा उठ्ने अन्तराष्ट्रिय सभागृह ६०१ ले चाहँदासम्म निरन्तर प्रयोगका लागि सुम्पन र गरिव जनता सेउलाको छाप्रोमुनी वा नांगो आकासमुनी घाम र पानी सहेर बसिरहनुपर्ने अवस्थाको निरन्तरताको लागि पनि लाखौं नरनारी सडकमा ओर्लनुपर्ने थिएन । 

जनता सबैलाई हितगर्ने प्रभावकारी प्रजातन्त्रका लागि लडेका थिए । राजनीतिक स्थीरता, बिधिको शासन र भ्रष्टाचार बिहिन समाजको परिकल्पनमा तानाशाहका बिरूद्ध लडेका जनताले त्यो लडाईंको इनाम स्वरूप चार बर्षमा पाँच ओटा निकम्बा सरकार जसमार्फत वा तिनको संरक्षणमा भ्रष्टाचार, तस्करी, महँगी, कालाबजारी लुट र आतंक पाए र पाईरहेकै छन् । जनताले भोट हालेका सांसदले बेरोजगार युवालाई प्रहरीको सिपाहीमा जागिर लगाईदिने प्रलोभनमा, मन्त्रीले कर्मचारीको सरूवा र बढुवाका नाममा तथा मन्त्रीका पीएले सरकारबाट जग्गा अधिग्रहण गरेबापत नागरिकलाई दिनुपर्ने स्वभाविक मुआब्जा दिलाईदिने नाममा खुलेआम घुस लिएका प्रमाणहरू सार्वजनीक भए । मन्त्री र सांसदबाट कर्मचारी कुटीए । सरकारले ब्यक्तीका लागि नभई पदको मर्यादाका लागि सांसदलाई उपलब्ध गराएको पासपोर्ट बिक्रि भए । अति बिशिष्टको कोटाबाट सभासद् बनेका ब्यक्ति सर्वसाधारणको अपहरणमा संलग्न फेला परे । बाहालवाला मन्त्रीमाथि लागेको हत्याको मुद्धा फिर्ताका लागि पिडितलाई लाखौं घुसको प्रलोभन देखाइयो र त्यस्तो घुस काण्डका मतियार कर्मचारी कथीत स्वच्छ छवि भएका भनिएका ब्यक्तीले नेतृत्व गरेको सरकारबाट पुरस्कृत भए । हत्यारा प्रमाणीत भएका ब्यक्ती जनताको कर भोग गरेर संसदमा उग्राईरहेकै छन् । भ्रष्टाचारको आरोप लागेका मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएर सम्बन्धीत निकायलाई अनुसन्धानमा सहयोग गर्नुको सट्टा आफैंलाई नयाँ राजा ठानेर भ्रष्टको आरोप प्रमाणीत गर्न वबुरा रैतिलाई चुनौति दिईरहेछन् । प्रधानमन्त्रीलाई देशै परदेशमा बिलय हुने कुरा गर्न संकोच भएन भने मन्त्रीले देश टुक्र्याउने कुरा गर्नु सामान्य झैं भैसक्यो ।  सर्वहाराका नेता भनिएका, गरिवलाई मुक्ति आन्दोलनमा सहमागी भई मृत्युवरण गर्न प्रेरणा दिएका र ब्यक्तिगत सम्पत्ति हँुदै नभएका अमुक दलका महानायक मासिक लाखभन्दा बढी भाडा तिर्नुपर्ने आलीसान महलमा मोज गरिरहेछन् ।

अहिले पदमा पुगेकाहरूको अनुहार हेर्दा लाग्छ, दिन–रात सारिरिक श्रम गरेर पनि गुजारा चलाउन नसकी ऋण खोज्दै शहर पसेका तर आतंककारीको बम आक्रमणमा ज्यान गुमाएका धादिङ्का मानबहादुर र कृष्णबहादुर तामाङ् भन्दा पिडित र पिछडिएका व्यक्ती जनकपुर तिरका बिजय गच्छादार, हृदयश त्रिपाठी, जेपी गुप्ता, राजेन्द्र महतो आदि रहेछन् । यिनिहरू राजा सहितको बहुदलीय प्रजातन्त्रमा ठूलो अन्यायमा परेछन् र यिनैको मुक्तीका लागि प्रजातन्त्रको सट्टा देशमा लोकतन्त्र वा गणतन्त्र चाहिएछ । जनआन्दोलन मार्फत २६ जना सर्वसाधारणले सडकमा आफ्नो बली चढाउनु परेको यिनै दरिद्रहरूको मुक्तीका लागि रहेछ । अझै गहिरिएर हेर्दा के देखिन्छ भने सडकमा रगतको खोलो बगेको अर्का महागरिवलाई जुँगे राजा बनाएर लाजिम्पाटको दरवारमा बिराजमान गराउनका लागि र टोल–टोलमा थप राजाहरू जन्माउनका लागि रहेछ । 

पछिल्लो समयमा केही भ्रष्टलाई जेल सजाय पुरानै संसदीय ब्यवस्थाले बनाएको कानुन र संरचनाले गरेको हो । नयाँ ब्यवस्थामा त राजनीति गर्नेहरूसँग देखिने सम्पत्ति नै हुँदैन र भएका पनि बिस्तारै सम्पत्तिहिन बन्दै जानेछन् । अहिले अचम्मका गरिव र सर्वहारा जन्मीएका छन् जोसँग कानुनी रूपमा एक सरो कपडा लगाउन र एक पेट खान सक्ने हैसियत छैन तर यीनको जिवनसैली देखेर ठूला उद्योगी वा सन्सारका राजा महाराजाहरू समेत जिब्रो टोक्छन् । नौला यी गरिवहरूलाई जेल हाल्न नत पुरानो कानुनले सक्छ नत त्यस्तो शक्तीशाली नयाँ कानुन बन्ने अवस्था नै छ । त्यसैले लाग्छ–जनआन्दोलन भएको गरिवीको उन्मुलन वा झुप्राका गरिवको हितका लागि नभई महलमा नौला गरिवको बस्ती बसाउनका लागि रहेछ जसमा नजानेर हामीहरू पनि सहभागि भएछौं ।    
     
२०६२/६३ को जनआन्दोलन परिवर्तनका लागि भएको थियो, पुरानो राजतन्त्र फालेर नयाँ राजा÷रजौटा जन्माउनका लागि थिएन । परिवर्तन समताका लागि, गरिवको गाँसका लागि, छाप्रो र खुला आकाशमुनी बस्नेको ओतका लागि, अन्यायमा परेकाहरूको न्यायका लागि, कलम समतिएकाको कलमको मसी नदीजस्तै निर्भयतापुर्वक उपयुक्त दिशामा बग्ने बातावरण बनाउनका लागि, काम गर्नेको गरिखान पाउने स्वतन्त्रताका लागि, काम गर्न चाहने तर कामै नपाउनेलाई  काम दिलाउनका लागि र समग्रमा प्रभावकारी प्रजातन्त्र मार्फत राज्यमाथि सबै जनताको समान स्वामित्व स्थापना गराउनका लागि थियो र त्यो शान्तिका लागि थियो । संबिधानसभा मार्फत नयाँ संबिधान निर्माणको मुद्धा यिनै जनअपेक्षालाई साकार बनाउनका लागि र राज्यलाई जनहितकारी बनाउन चाहिने आवस्यक संरचनागत परिवर्तनका लागि थियो नकि अहिले बहसमा आए जस्तो देशको स्वरूप नै पछाडि बोकाको टाउको जोडिएका दक्ष प्रजापती जस्तो घिनलाग्दो बनाउनका लागि र जातीय निरंकुशताका लागि  । 

जिवित ठानीएको संबिधानसभा यथार्थमा २०६७ जेष्ठ १४ गते नै मरिसकेको हो किनभने जनताले दिएको अवधी भुक्तान गरिसकेपछि आफैंलाई पुनर्नियुक्ति गर्दैमा वा अफ्नो आयु आफैं थपेकै कारणले यसको बैधानीक अस्थित्व बाँकी छ भन्न मिल्दैन भलै प्राविधिक र कानुनी रूपमा यो जिवीतै होला । तीन जना छोटे राजाहरूले अँध्यारो कोठामा तयार गर्ने र चौथोले पनि सहमति जनाउने पाण्डुलीपीमा औंठाछाप लगाउनकै लागि पालीराखिएका ६०१ का नाममा जारी हुने संबिधान मान्नुपर्ने बाध्यता नेपाली जनतालाई छैन । प्रमाणीत भईसकेका हत्यारा, रातोपासपोर्टका ब्यापारी, घुसघोर र तस्करहरू समेतको हस्ताक्षरमा जारी हुने नयाँ संबिधानले जनताको प्रभावकारी प्रजातन्त्रको आकांक्षालाई पुरा गर्नै सक्दैन । यो धारणा तानशाह र कथित राष्ट्रबादका नाममा तिनै तानाशाहको गुणगान गाउनेहरूसँग पनि मिल्नसक्छ तर सत्य यहि हो । 

यहाँभित्रैबाट जातीय र क्षेत्रीय मुद्धालाई अनावस्यक उरालेर, राष्ट्रिय एकता कमजोर पार्दै राष्ट्रियता र प्रजातन्त्र दुवै अरू कसैलाई हस्तान्तरण गर्ने अनेक किसिमका खेल सञ्चालन गरेको शक्ती अहिले निर्णायक ठाउँमा छ । उसैबाट प्रजातन्त्र संस्थागत होला, राष्ट्रियता जोगिएला र उसैका धेरै टाउका रहेको म्याद नाँघेको संबिधानसभाबाट लोकतान्त्रिक संबिधानकालागि दुईतिहाई हस्ताक्ष्।र जुट्ला भनेर बस्नुपर्ने अवस्थामा हामी छौ । अर्थात्, हामीले माओबादी र उसको ललीपपमा लोभिएर फसेका लोभिपापीलाई बिश्वास गर्दा जनताले इतिहासमा कहिल्यै नपाएको धोका पायौं । 

(२०६८ फाल्गुन २३ गतेको राजधानी दैनिकमा प्रकाशीत )

Tuesday, February 28, 2012

बैदेशीक सहायता पारदर्शीताको खोजी


अनिरुद्र न्यौपाने 
बैदेशीक सहयोग प्राप्त गर्ने देशका जनताले त्यस्तो सहयोगबाट अधिकतम प्रतिफल प्राप्त गर्न सकुन्, सहयोगका रुपमा भित्रने श्रोत र साधनप्रति संबन्धीत देशका जनताको स्वामित्व स्थापीत होस्, त्यस्तो सहयोग प्रभावकारी रुपमा खर्च होस्, खर्च, खरीद र भुक्तानी प्रक्रिया पारदर्शीता बनोस्, सहयोग प्राप्त गर्ने देशको आवस्यकताका र हितलाई ध्यानमा राखेरमात्र दाताहरुले सहयोग प्रदान् गरुन्, दाताहरुकै बिच र दाता तथा सहयोग प्राप्त गर्ने देशका बिच संबन्धीत पक्षले सन्चालन गर्ने बिकासका काममा दोहोरपन नआओस् र बिकासका कामको ब्यवस्थापन प्रतिफलमा आधारित होस् ता कि समग्रमा बैदेशीक सहयोग उपलब्धीर्ण र औचित्यपुर्ण बन्न सकोस् भन्ने लक्ष्य सहित फ्रान्सको पेरिसमा २००५ मा भएको दाता र सहयोग प्राप्त गर्ने मुलुकका मन्त्रीहरु र द्विपक्षीय तथा बहुपक्षीय बिकास संस्थाहरुकोे संयुक्त सम्मेलनले बैदेशीक सहयोगको प्रभावकारीताका लागि मार्गचित्र तयार गर्ने ५० बुँदे ‘पेरिस घोषणा पत्र २००५’ जारी गर्यो ।

पेरिस घोषणापत्रले परिलक्षीत गरेका उद्धेश्य प्राप्तीको समीक्षा तथा मुल्यांकन गर्न र थप रणनीति एवं कार्ययोजना तयार गर्न २००८ मा घानाको राजधानी आक्रामा भएको त्यस्तै अर्को सम्मेलनले संयुक्त राष्ट्रसंघले निर्धारण गरेको सहस्राब्दी बिकाश लक्ष्य हाँसील गर्ने सन्दर्भमा बैदेशीक सहयोगको प्रभावकारी उपयोग मार्फत गरिवी निवारणका लागि आवस्यक रुणनीति तय गर्यो । आक्रा एजेण्डा अफ एक्सन नाम दिईएको उक्त ३२ बुँदे रणनीतिपत्रले गरिवी निवारण लगाएतका बिकाससील मुलुकका बिकासका योजना कार्यान्वयनका लागि पारस्परिक सहयोग र साझेदारीलाई प्रभावकारी बनाउने प्रतिवद्धता सहित त्यसका लागि आवस्यक बिभिन्न उपायहरु सुझाएको छ । 

बैदेशीक सहयोगलाई प्रभावकारी बनाउने र बिकास साझेदारीलाई थप उपलब्धीपुर्ण बनाउने उद्धेश्यले नै गत बर्षको नोभेम्बर–डिसेम्बर महिनामा दक्षीण कोरियाको बुसानमा आयोजित त्यस्तै अर्को उच्च स्तरीय सम्मेलनले बिकास साझेदारीलाई अझै प्रभावकारी, समावेशी तथा साझा सिद्धान्त र उद्धेश्यमा आधारित बनाउदै  थप प्रतिवद्धताका साथ अगाडि बढाउने घोषणा गरेको छ । प्रभावकारी बिकास सहयोगका लागि बुसान साझेदारी नाम दिईएको सो प्रतिवद्धतापत्रले पनि समग्रमा बैदेशीक सहयोगलाई उपलब्धीपुर्ण बनाउने पेरिस घोषणापत्रले उठाएका बिषयबस्तुलाई पुनः जोड दिएको छ । 

पछिल्लो समयमा बैदैशिक सहायताको प्रभावकारीता बृद्धि गर्नका लागि थप राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयत्नहरु पनि भईरहेका छन् । खुला बजार अर्थतन्त्रको प्रवद्र्धनको अभिप्रायले ५० बर्ष अघि गठीत प्रायः सम्पन्न मुलुकहरूको संगठन, आर्थिक सहायता तथा बिकास संस्था (ओईसीडी) ले अन्तराष्ट्रिय बिकास प्रयासलाई अर्थपुर्ण बनाउन बैदेशीक सहयोगको प्रभावकारी उपयोगको प्रत्याभूति दिलाउनुलाई पनि आफ्नो प्राथमीकता बनाएको छ । त्यसका लागि उसले बिकास सहायता समिति (ओइसीडी–डाक) मार्फत बिकासशील मुलुकहरुको सार्वजनिक बित्त ब्यवस्थापन र सहयोगको प्रभावकारिताका लागि काम गर्छ । पेरिस घोषणापत्रको हस्ताक्षरकर्ता मुलुकहरुले संबन्धीत मुलुकको पनि अर्थ वा बिकास तथा योजना संबन्धी मन्त्रालय मार्फत सो घोषणापत्र र आक्रा एजेण्डा अफ एक्सनको कार्यान्वयनको अनुगमन गर्ने गरेका छन् । त्यस बाहेक केही राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुले पनि सहयोग प्रभावकारीता अभिबृद्धि गर्नका लागि काम गरिरहेका छन् ।  

बैदेशीक सहायता लिने मुलुकको हैसियतले पेरिस घोषणापत्रप्रति नेपालले पनि प्रतिवद्धता जनाएको छ र सो घोषणापत्रमा उल्लेखीत लक्ष प्राप्त गर्नु नेपालका लागि पनि अत्यावस्यक छ । नेपालमा कति सहयोग आवस्यक छ ? कस्ता कस्ता योजनाका लागि सहयोग आवस्यक छ ? कस्ता कस्ता सहयोग माथिल्लो सरकारी निकाय मार्फत नै खर्च गर्नु उपयुक्त हुन्छ र कस्ता कार्यक्रमका लागि स्थानीय निकायलाई दाताहरुले सोझै सहयोग उपलब्ध गराउन सक्दछन् ? गैह्र सरकारी संस्थामार्फत आउने सहयोग र खर्चले देशको आर्थिक सामाजिक प्रगतीमा के कसरी योगदान पुर्याउन सक्छ वा पुर्याईरहेको छ ? के कति सहयोग प्राप्त हुनसक्छ र भईरहेको छ ? दाताले प्रतिवद्धता अनुसार सहयोग गरे वा गरेनन् ? दाताको प्रतिवद्धता अनुरुप सहयोग प्राप्त हुन सकेन भने त्यसको कारण के हो ? लगाएतका प्रश्नको जवाफ सरकार र नागरिकसँग भएको मुलुकमा मात्र बैदेशीक सहयोगको प्रभावकारीता सुनिश्चित हुन सक्छ । के नेपाल सरकारसँग यी प्रश्नको जवाफ छ त ?
     
सहयोगको प्रभावकारीता निरपेक्ष बिषय हुन सक्दैन । प्रभावकारीता प्रश्थान बिन्दु सहयोग हस्तान्तरण, प्राप्ती र प्रयोगको पारदर्शीता हो । पारदर्शीताका केही चरणहरु छन् । दाताहरुको अस्थित्व, दाताहरुका प्राथमीकता, तीनीहरुसँग संबन्धीत मुलुकको बिकासका योजनामा खर्च गर्नका लागि उपलब्ध बजेट, त्यस्तो बजेट हस्तान्तरणका प्रकृया र सर्तहरु, त्यसरी हस्तान्तरण भएपछि हुने खर्चको पारदर्शीताका लागि उनीहरुले अपनाउने बिधि र प्रकृया एवं त्यसको उपलब्धीका संबन्धमा दाताहरु जवाफदेही हुनुपर्ने निकाय लगाएतका बिषयमा सम्बन्धीत मुलुकको सरकार र आम नागरिक जानकार छन् भने मात्र बैदेशीक सहायताको पारदर्शीता संभव हुन्छ । 

तर, नेपाली नागरिकमात्र नभई नेपाल सरकारसमेत कतिपय सन्दर्भमा दाताहरुको अस्थित्वकै बारे बेखवर छ ।  बिदेशबाट बैङ्कीङ् च्यानलमार्फत नै सहयोग पठाउने कतिपय दाताको बारे सरकार नै जानकार छैन भलै त्यस्ता दातामार्फत प्राप्त हुने बैदेशीक सहयोगको राशी धेरै ठूलोे भने छैन । अन्य कतिपयका सन्दर्भमा हाम्रो सरकारसँग तिनको अस्थित्वको औपचारिक जानकारी बाहेक अन्य कुनै सूचना छैनन् । बाँकी केही महत्वपुर्ण दाताहरुको सहायता सम्बन्धी आंशीक जानकारीमात्र अर्थ मन्त्रालयसँग छ । त्यसैले बैदेशीक सहायतालाई राष्ट्रिय बजेटको अंग बनाउन सुरुवात गरेर पनि सरकारले त्यस्तो सहयोगको प्रतिवद्धाता बाहेक प्राप्ती र प्रयोगका सम्बन्धमा नागरिकलाई जानकारी दिन सकिरहेको छैन । नेपालमा २०० भन्दा बढि  बिदेशी र ४० हजार भन्दा बढी स्थानीय गैह्र सरकारी संस्था रहेको तथ्यांक समाज कल्याण परिषद्सँग छ तर तिनमार्फत परिचालन हुने बैदेशीक सहायताको एकिकृत जानकारी दिनसक्ने अवस्थामा परिषद् पनि छैन । सहयोगको पारदर्शीताको लागि आफैंपनि काम गरिरहेका संयुक्त राष्ट्रसंघीय ईकाईहरु, बिश्व बैक लगाएतका सीमीत दाताका सन्दर्भमा मात्र तिनको प्राथमीकता, उपलब्ध बजेट, सहयोग हस्तान्तरण प्रकृया आदिका बारे सरकार र सरोकारवाला जानकार छन् । त्यसैले नेपालमा सहायताको प्रभावकारीताको खोजि गर्नुअघि त्यस्तो सहयोग र सहयोगी निकायको पारदर्शीताको पहल जरुरी छ । 

बैदेशीक सहयोग सम्बन्धी सूचनामा नागरिकको पहुँच स्थापीत गरी सहयोगको पारदर्शीता कायाम गर्नका लागि पहल गर्ने उद्धेश्यले अन्तराष्ट्रिय सहायता पारदर्शीताका लागि प्रयास (आईएटीआई) नामक संस्थाले ओईसीडी–डाक सँग समेत मिलेर बिभिन्न पहल गरिरहेको छ । नेपाल लगाएत बिभिन्न मुलुक र संस्थाहरु गरी २९ सदस्य रहेको यो संस्थाले दाताहरुका सूचना सबै मुलुकका नागरिकका लागि सहज रुपमा उपलब्ध गराउने पहल गरिरहेको छ जसबाट नेपालले पनि फाईदा लिन र धेरै सिक्न सक्छ ।

नेपाललाई सहयोग गर्ने द्विपक्षीय र बहुपक्षीय दाताहरु पेरिस घोषणापत्र, आक्रा कार्ययोजना, बुसान बिकास साझेदारी लगाएतका नैतिक बन्धनबाट भाग्न सक्ने अवस्थामा छैनन् । उनीहरु ओईसीडीको मापदण्डलाई अटेर गर्न सक्ने अवस्थामा पनि छैनन् । आफ्नै देशका नागरिक, सरकार र संसदप्रति पनि तिनको उत्तरदायित्व छ । अझ, नेपालका सन्दर्भमा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नेपाली नागरिकलाई सूचना दिने दायित्वबाट यहाँका दाताका प्रतिनिधी र अन्तराष्ट्रिय गैह्र सरकारी संस्था पनि उम्कन पाउँदैनन् । तर, अनेक किसिमका नैतिक र कानुनी बन्धन भएर पनि सरकारमा हुनेहरुको कायरता तथा आम नागरिक र सरोकारवालाको उदासीनताका कारणले बैदेशीक सहयोगको पारदर्शीता र प्रकारान्तरले त्यसको प्रभावकारीता समेत कायाम हुन सकेको छैन । त्यसैले बैदेशीक सहयोगसम्बन्धी सूचनामा नागरिकको पहुँच बिस्तार गरि पारदर्शीता कायाम गर्नकालागि ठूलै अभियान जरुरी छ ।       
 (२०६८ फाल्गुण १७ गतेको कारोबार दैनिकमा प्रकाशीत )

Thursday, February 23, 2012

भ्रष्टाचार नियन्त्रणका लागि अध्यात्म

अनिरुद्र न्यौपाने 
राजनीति गर्नेहरू कमाउनका लागि नभई जनताको सेवाका लागि राजनीतिमा लागेका हुन् भनेर सायदै नेपालीले पत्याउलान् । कर्मचारी प्रशासनमा जनताप्रति इमान्दार ब्यक्ती हुन्छन् भनेर पत्याउने पनि ज्यादै कम छन् । प्रहरी प्रशासन र न्यायालयमा भ्रष्टाचार हुदैन भनियो भने ठट्ठा सम्झीएर नहास्ने पनि सायदै होलान् ।  त्यसैले भ्रष्ट निकाय, भ्रष्ट राजनीतिक दल, भ्रष्ट ब्यक्ती, भ्रष्ट उद्योगी, भ्रष्ट ब्यापारी, भ्रष्ट कर्मचारी, भ्रष्ट प्रजातन्त्रबादी, भ्रष्ट कम्युनिष्ट, भ्रष्ट राजाबादी, भ्रष्ट नेपाली वा भ्रष्ट बिदेशी जोसुकै हुन्, भ्रष्टाचारको सिमाना यति ति ब्यापक भईसकेको छ कि भ्रष्टाचार र भ्रष्टाचारीका सम्बन्धमा सम्पुर्ण ब्याख्या गरेर महाकाब्य निकाल्ने हो भने त्यसले ब्यासले रचना गरेका अठारै पुराणको मेख मर्नेछ । अर्थात्, भ्रष्टाचार र भ्रष्टाचारीको बयान गर्न प्रायः असम्भव छ । 

नेपालीे राजनीतिको मात्र कुरा गर्ने हो भने भ्रष्टाचार प्रति आशक्ती नभएको राजनीतिकर्मी भेट्न प्रायः असंभव छ । स्वच्छ छवीका मानीएका बर्तमान प्रधानमन्त्री यदि प्रत्यक्ष रुपमा आफैं भ्रष्टाचारमा संलग्न छैनन् भनेपनि उनीसँग जोडिएका थुप्रै अनियमीतता र भ्रष्टाचारका समाचार बाहिर आएका छन् । उनी प्रधानमन्त्री भएयता मात्रै करोडौं रुपंैया राज्यकोषबाट हिनामिना भएको खवर सञ्चारमाध्यम मार्फत बाहिर आएका छन् । बालुवाटारका सभा–सम्मेलन र भोज भतेरका लागी उनले यस अघिका सबै प्रधानमन्त्रीको मेख मर्ने गरी खर्च गरेका छन् । उनी प्रधानमन्त्री भएपछि आफैंले स्थापना गरेको युवा स्वरोजगार कोषको रकम हिनामिना भएको प्रमाण सार्वजनीक भयो । हुँदै नभएका लडाकुका नाममा मासीक लाखौं रकम निकाशा गरेर आफैं उपाध्यक्ष रहेको दलभित्र संस्थागत भ्रष्टाचार बढाउनमा उनको ढूलो हात रहेको देखियो । आफ्नो मन्त्री परिषद्मा रहेका वरिष्ठदेखि कनिष्टसम्म धेरै जना मन्त्री भ्रष्टाचारजन्य अपराधमा संलग्न भएको सार्वजनिक भईरहँदा आफ्नो पद जोगाउनकै लागि उनले तिनीहरूमाथि कुनै कारवाही गरेका छैनन् । त्यतिमात्र नभई ठुल्ठुला नियुक्ती, सरुवा, बढुवा र ठेक्कापट्टाका संबन्धमा उनी आफ्ना निकटहरूको प्रभावमा परेको केही समाचार पनि पत्रपत्रिकामा आएका छन् भलै त्यसको पुष्टि भएको छैन । जे होस्, स्वच्छ छवी भनीएका राजनीतिज्ञलाई पनि अभ्रष्ट भन्ने आधार कम्तीमा आम नागरिकसँग छैन भने बाँकी अभ्रष्ट खोज्ने कसरी ?

धेरैले नाम सुनेको, देखेको र थोरै अनुभव गरेको आधारमा २०४६ साल यता सार्वजनीक पद धारण गरेका राजनीतिकमीहरूमध्ये चार जना ब्यक्तीत्वहरू भ्रष्टाचारजन्य गतिबिधिबाट टाढै रहेको नेपाली समाजले बुझेको छ । ती मध्ये तीन जनाले नेपाली काँग्रेसबाट राजनीति गरेका हुन् भने एक जनाले नेकपा एमालेबाट । भ्रष्टाचारप्रतिको आशक्ती दुर गर्नका लागि आवस्यक पर्ने ब्यक्तीगत गुण पहिल्याउनका लागि यि उदाहरण यहाँ प्रश्तुत गर्न खोजिएको हो जसको आधारमा अभ्रष्ट ब्यक्ती पहिचान गर्न र भ्रष्टाचार बिहिन समाज निर्माणको बातावरण आधार तय गर्नका लागि थोरै पहल गर्न पनि सकियोस् ।

२०४८ सालको आम निर्वाचनबाट गठित गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारमा कृषी मन्त्री बनेकी प्रजातन्त्र सेनानी शैलजा आचार्यले मन्त्रालयमा हुने गरेको भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्वबाट पर्याप्त सहयोग नपाएपछि पदबाटै राजीनामा दिईन् । पछिल्लो समयमा काँग्रेसबाट सार्वजनीक पद धारणगर्नेहरूको भ्रष्ट प्रबृतिका कारणले पार्टीनै बद्नाम भएको महशुस गरी दलको महत्वपुर्ण नेताको हैसियतले त्यस्तो बद्नामीको नैतिक जिम्मेवारी आफ्नो पनि हुने ठहर गरी गल्तीको प्रायश्चीत गर्नका लागि जिवनको उतराद्र्धमा सातदिनसम्म आफ्नै निवासमा उपवास सहित आफैंलाई स्वयं नजरवन्दमा राखिन् । बिवाहसमेत नगरेर आफ्नो जिवन प्रजातन्त्रका लागि सुम्पिएकी शैलजाको अभ्रष्ट चरित्रमाथि जिवनपर्यन्त कसैले प्रश्न उठाउन पाएन । 

काँग्रेसका संस्थापक नेता किशुनजी अर्का त्यस्तै पात्र हुन् जसले मुलुकको प्रधानमन्त्री भएर पनि भौतिक सुख र सुविधाप्रति जिन्दगीभर कुनै मोह देखाएनन् । प्रजातन्त्रका लागि सिंगो जिवन उत्सर्ग गरे, बिवाह गरेनन् र भ्रष्टहरूको संगतबाट टाढाको कुटीमा गिता पाठ गर्दै, अध्यात्ममा रमाउँदै र सबैलाई प्रेमको महत्व बुझाउँदै प्राण त्याग गरे । प्रजातन्त्रका बिरुद्ध कुनैपनि सर्तमा न त दरवारसँग संझौता गरे न त अहिलेका माओबादीसँग नै । आफैं हुर्कीएको, पढेको र राजनीतिक रुपमा दिक्षीत भएको मुलुकका आस्थाका धरोहर महात्मा गान्धीलाई आफ्नो पनि राजनीतिक आदर्श बनाए तर त्यही देशका शासकसँग राष्ट्रियताका सन्दर्भमा पनि कुनै संझौता गरेनन् । किशुनजीलाई भ्रष्ट राजनीतिज्ञ ठान्ने पनि सायदै कोही नेपाली होला । 
अर्का राजनीतिक पात्र हुन् काँग्रेसका बर्तमान सभापति सुशील कोईराला । उनलाई महत्वपुर्ण सार्वजनीक पद कहिल्यै धारण नगरेकोले भ्रष्ट नभएको तर्क गर्नेहरू पनि छन् तर धेरै समय सत्ताको नजीक रहेको पार्टीको महत्वपुर्ण हैसियतमा रहँदै आएका कोईरालाले चाहँदा अकुत संपती आर्जन गर्नबाट उनलाई कसैले रोक्न सक्दैनथ्यो । शैलजा र किशुनजीजस्तै पारिवारीक बन्धनबाट टाढै रहेका कोईरालाले पनि जिन्दगी प्रजातन्त्रकै लागि सुम्पीए, प्रजातन्त्रबिरुद्ध कसैसँग संझौता गरेनन्, गर्न अहिले पनि तयार छैनन् र भ्रष्टको संरक्षणका लागि पार्टीभित्रै उठेको आवाजलाई निस्तेज पारेर आफ्नो अभ्रष्ट चरित्र कायाम राखिरहेकै छन् । 

सार्वजनीक पद धारण गर्ने बित्तिकै मुखैमा आएको करोडौंको घुस अस्विकार गर्दै नेपालको नयाँ पुस्तामा पनि  भ्रष्टाचार बिरोधी अनुहार छन् भन्ने सन्देश दिएका नेकपा एमालेका युवा नेता गोकर्ण बिष्टलाई पनि अभ्रष्ट ब्यक्तीको सुचीमा राख्नैपर्छ । घुस बिनाको राजनीति संभव हुन्छ भन्ने उदाहरण दिएका  बिष्ट अर्का आशलाग्दा राजनीतिकर्मीको रुपमा उदाएका छन् । 
       
दुई जना राजनीतिज्ञ, चिरञ्जीवी वाग्ले र जेपी गुप्ता भ्रष्टाचार प्रमाणीत भएर जेलमा पुगेका छन् । अरु केहीलाई त्यस्तै मुद्धा लागेको छ । तर, ठूला दलका ठुलै नेता लगाएत हजारौं भ्रष्टहरूको कब्जामा नेपाली राजनीति छ । तिनलाई कहिल्यै कुनै मुद्धा लागेको छैन र सायद लाग्ने पनि छैन । तिनैले एकाध अभ्रष्टहरूको उपस्थितीलाई पनि गौण बनाईदिएका छन् । त्यसैले, राजनीतिक सुद्धिकरणलाई अभियानकै रुपमा अगाडी नबढाउने हो भने यो देशमा भ्रष्टाचार निर्मुल हुने र गरीवले सुख पाउने दिन आउने अपेक्षा गर्न सकिदैन । 

आज बाबु आमासँग १० रुपैंया नाफा गरेर गुच्चा खेल्ने बालबालीकामध्येबाटै भोलीको राजनीज्ञ, प्रशासक, न्यायकर्मी वा सुरक्षा अधिकारी बन्ने हो । बदमासी गर्न नहुने, राज्यको ठूक्ुटी आफ्नो ब्यक्तीगत हितमा प्रयोग गर्न नहुने, घुस खान नहुने जस्ता महत्वपुर्ण बिषयमा अध्ययन गराईने नैतिक शिक्षालाई बिद्यालयको पाठ्यक्रमबाट हटाईएको छ । घसा लिने र दिने राज्यका सत्रु हुन् भन्ने पृथ्वीनारायणको दिब्योपदेशलाई प्रचार गर्दा तानाशाहको प्रशंसा हुने भयले पाठ्यक्रमबाट त्यस्ता बिषय हटाईएका छन् । धर्म र अध्यात्मलाई रुढीबाद भन्दै नास्तीक भौतिकबादी बन्नुपर्छ भन्नेहरूको जताततै बोलवाला छ । अहिलेको युवा जमात अध्यात्मलाई पागलपनको संज्ञा दिन्छ । यो पुस्तालाई  किशुनजीको  गितामोह र शैलजाको अध्यात्मीक आत्मसुद्धिको उपाए वा शुसील कोईराला लगाएत तिनै जनामा रहेको  राष्ट्र र प्रजातन्त्र प्रतिको प्रेमले तान्दैन । अहिलेको पुस्ता गोकर्ण बिष्टबाट सिक्नु पर्ने पनि केही देख्दैन बरु उनको ब्यवहार देख्दा अचम्म मान्छ र हाँस्छ ।

राजनीतिमा लाग्नेलाई बिवाह नै नगर भन्न सकिदैन । प्रायः बैवाहिक बन्धनमा बााधीएका  ब्यक्तीहरूमा अध्यात्मीक चेतना र मृत्युको भय नहुँदा आफ्नो र परिवारको लागि राज्यकोषको दुरुपयोग गर्ने चाहनाले देश नै भ्रष्टाचारीको अखडा बनिरहेको छ । माथि उल्लेख गरिएका मध्ये तीन जना अविवाहीत हुनाले उनीहरुमा दुनीयाप्रति समान प्रेम भाव रह्यो र अध्यात्मीक चेतनाले बदमासी गर्नबाट रोक्यो । मन्त्री हुने बित्तिकै सांघातीक आक्रमणमा परेका बिष्टमा अन्य स्वास्थ्य समस्या पनि छन् । उनी र उनको हित चाहने हामी कसैका लागि पनि यि कुरा राम्रा हैनन् तर सायद यि कुराले उहाँमा जिवनको मुल्य बुझ्ने र अध्यात्मबोध गर्ने अवसर दिलाएको हुनुपर्छ जसको कारणले उनी भ्रष्ट हुनबाट जोगीए । उनलार्ई अशल स्वाथ्य सहितको दिर्घजिवनको कामना ! उल्लेखीत चारजना राजनीतिज्ञको उदाहरणबाट के देखिन्छ भने ब्यक्तीमा अध्यात्मबोध भएमा भ्रष्टाचारप्रतिको आशक्ती स्वतः  समाप्त भएर जान्छ । 

धर्म र अध्यात्म फरक कुरा हुन् । धर्मले ठुला ठूला यज्ञ गर्न, धेरै दान गर्न र भौतिक रुपमा देखीने काम गर्न मानीसलाई प्रेरित गर्छ जसका लागि धनसम्पती चाहिन्छ र मानिस धर्मका लागि पनि भ्रष्टाचार गर्दछ ।  त्यस बिपरित अध्यात्मले आफ्नो आत्मामाथि अन्याय गर्न दिदैन र भ्रष्टाचारमा लिप्त हुनबाट मानिसलाई रोक्दछ । त्यसैले, अहिलेका बालबालीकाका लागि अध्यात्मीक शिक्षा र चेतना तथा वर्तमान राजनीतिक पुस्तामाथि अध्यात्मिक हस्तक्षप नै भ्रष्टाचार निवारणको सबैभन्दा उत्तम बिकल्प हो । 

नेपाल धर्म निरपेक्ष मुलुक हो तर अध्यात्म निरपेक्ष मुलुक हैन । त्यसैले अध्यात्मद्वारा समाज परिवर्तन राज्यकै मुद्धा हुनुपर्छ । यसका लागि अध्यात्मीक अभियानमा राज्यले लगानी गर्नैपर्छ । अध्यात्मबाट भ्रष्टाचार मात्र नभई हरेक खालका अपराध र सामाजिक बिकृतिबाट पनि मुलुलाई छुटकारा दिलाउन संभव छ । यो कुरालाई सरकारले स्विकार नगर्ला तर सभ्य र भ्रष्टाचार बिहिन समाजको चाहना बोकेका नेपालीहरू एक भएर अध्यात्मीक चेतना फैलाउने हो भने सकरात्मक परिवर्तन अवस्य हाता लाग्नेछ ।                      
            

          (२०६८ फाल्गुन १२ को राजधानी दैनिकमा प्रकाशीत)


Wednesday, February 8, 2012

चरम संकटमा एनेकपा माओबादी


दलभित्र बेला बखत देखिने दुई लाईन वा तिन लाईनको संघर्ष, एक अर्को पक्षका बिचमा हुने आरोप–प्रत्यारोप, पार्टीबाट फुटेर जान दिईने चुनौति वा फुटाउने धम्की, बहुमतको निर्णयको अवज्ञा वा अल्पमतलाई निषेध, यो वा त्यो पक्षका कार्यकर्ता बिच हुने झै–झगडा र अन्यदलसँग पार्टी संस्थापनले गर्ने संझौताको कार्यान्वयनमा पार्टीभित्रैबाट हुने अवरोध माओबादीका देखिने समस्या हुन् । सतहमा देखिने यस्ता समस्या राष्ट्रिय बहसका केन्द्रबिन्दु, सञ्चारमाध्यमका प्रमुख समाचार शिर्षक, गैह्र माओबादी दलका बिचारमा शान्तिप्रक्रियाको अवरोधक र बिदेशी कुटनीतिज्ञका चासोका बिषय बन्ने गरेका छन् । तर,े दलका तिनजना मुख्य नेता एकठाउँ भेला भई हातमा हात समाएर आफुहरू एकजुट रहेको, अन्तरसंघर्षले पार्टीलाई जिवन्त तुल्याएको र  पछिल्लो समयमा पार्टी झनै मजबुद भएको उद्घोष सहित फुटको सपना देखेर रमाउनेहरूका नाममा चुनौतिपुर्ण भाषामा अध्यक्षको तर्फबाट दिईने सनसनीपुर्ण संक्षीप्त मन्तब्यसँगै नेपालमा माओबादी केन्द्रीत राष्ट्रिय बहसका अध्याय समाप्त हुने गरेका छन् ।

पछिल्लो दुई बर्षको बिचमा चार पटकजति माओबादी केन्द्रीत यस्ता बहस भए तर न त माओबादी फुट्यो न त बिवाद नै निरन्तर रह्यो, केही भयो भने माओबादीले देखाएको चटकले दुनियालाई केवल मनोरञ्जन प्राप्त भयो । पछिल्लो अध्यायमा प्रचण्डसँग लड्नका लागि बैद्य पक्षले र भारतसँग सम्बन्ध सुधारका लागि प्रचण्डले चाहेर बाबुराम भट्टराई प्रधानमन्त्रि बने । बैद्य पक्षले चाहेबमोजिम पदको बाँडफाँड गर्न बाबुराम सक्षम नहुँदा बैद्य पक्ष केही रिसाएजस्तो देखियो । प्रचण्डले भाग बन्दोबस्त गरिदिने भएपछि प्रचण्ड र बैद्य मिले जस्ता र बाबुराम उनीहरूदेखी चिडिएजस्तो दुनीयालाई भान परेको छ । तर, बाबुरामको प्रस्ताव र प्रचण्डको समर्थनमा रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री बनेका दिन माओबादी फेरी एक भएको दुनियाले देख्नेछ, अचम्मीत हुनेछ र बहसको अर्को अध्याय पनि सकिने छ ।

माओबादीलाई पटक्कै बिश्वास नगर्ने यौटा पक्ष पनि छ नेपालमा । उ माओबादीको बिवादलाई कहिल्यै बिवादको रुपमा लिंदैन र मेलमिलाप हुँदा छक्क पनि पर्दैन । उ ठान्दछ, प्रचण्डले एकथरी कार्यकार्यकर्तालाई कब्जा सम्पती फिर्ताको पक्षमा उभिए झैं गर्न लगाउछन् र अर्काथरीलाई फेरी कब्जा गर्न पठाउँछन्, आफु कब्जा सम्पती पिर्ताको पक्षमा रहेझैं देखाउछन् र कब्जा गर्न जानेहरूलाई बैद्य पक्षको कार्यकर्ता भएको नाटक गर्न लगाउँछन् । सो पक्षका बिचारमा प्रचण्ड अन्य दलहरूसँग कुनै पनि संझौताका लागि निस्कनु अगावै आफुले गर्न लागेको सहमतिको कडा हिसावले बिरोधको तयारी गर्न र त्यस्तो सम्भावीत सहमति कार्यान्वयन गर्नै नसकिने बातावरण बनाउन पार्टी पंक्तीलाई निर्देशन दिन्छन् र बैद्य पक्ष भईदिन अनुरोध पनि गर्छन् । उनीहरू भन्छन्, माओबादीमा प्रचण्डले चाहँदामात्र बिवाद हुने हुनाले उनले चाहने बित्तिकै त्यस्तो त्यस्तो बिवाद समाधान पनि भैहाल्छन् र दुनीयासँग चकित हुनुबाहेक अर्को कुनै बिकल्प हुँदैन । माओबादीलाई अत्याधीक शंकाको दृष्टिकोणले हेर्नेहरूको धारणा बास्तविकतामा आधारित छ वा छैन त्यो समयक्रममा देखिने नै छ तर जे होस् यो दलमा बिवादका कारण पार्टी बिभाजन नै हुने अवस्था भने आउने देखिदैन । उसोभए के माओबादीमा समस्या नै छैन त ?      

माओबादीको नेतृत्व तहमा खास समस्या छैन किनभने देखिएका समस्या सैद्धान्तिक जस्तो देखिएतापनि पदीय लेनदेनसँगमात्र सम्बन्धीत भएकोले यि कुनैपनि बेला निदान भईहाल्छन् । पार्टीको खास समस्या अहिलेसम्म देखिएको भन्दा फरक छ र भर्खरै प्रकट हुने क्रममा छ । केही बर्ष अगाडीनै सल्कीसकेको र भर्खरै भर्भराउन लागेको समस्याको योे आगो निभाउने साहस र क्षमता नेपाली राजनीतिका उपलब्ध मध्ये सबैभन्दा चतुर खेलाडी मानीएका प्रचण्डमा छैन । बैद्य र बाबुरामसँग हात मिलाएर दुनीयामाथि औला ठड्याए झैं चुट्कीभरमा निदान हुने समस्या होईन यो । यो समस्या हुरीका रुपमा हैन, भुकम्प वा ज्वालामुखीका रुपमा पनि हैन, भयंकर सुनामीको रुपमा आउँदैछ,जसले प्रचण्ड वा बाबुराम मात्र नभई कटरपन्थी मानीएको बैद्य पक्ष लागाएत सिंगो माओबादी पार्टीलाई भग्नावशेष समेत नरहने गरि बगाउन बेर छैन । के हो त्यस्तो समस्या ?

पाँच बर्ष अगाडी माओबादीको शान्ति प्रक्रियामा प्रवेशलार्र्ई काँग्रेस र एमाले लगाएतका दलले राजनीतिक मुलधारमा उसको आगमनका रुपमा चित्रण गरे । तर, माओबादीले त्यो स्विकारेन बरु आफुले बेग्लै मुलधार शृजना गरेको र त्यही मुलधारमा प्रवेश गराएर समाप्त हुन लागेका यि दुई दललाई आफुले नै जोगाईदिएको दावी गर्यो । पार्टी नेतृत्वले कार्यकर्तालाई आफुहरूले युद्ध छोडी शान्तिकोे मार्ग समातेको कहील्यै बताएन बरु युद्धकोे नयाँ चरण सुरु भएकाले सत्ता कब्जाका लागि त्यस्तो युद्धको तयारी भब्य रुपमा गर्न निर्देश गर्यो । युद्ध छाडेकै बेला २०६३ जेष्ठमा उसले देशभरी बाट नेपाली सेनामा जागिर खुवाउने लालसामा युवाहरूलाई लडाकु  सिवीरमा प्रवेश गरायो । त्यसरी भर्ना भएका लडाकुको न त माओबादीसँग आस्था जोडिएको थियो न त उसको युद्धमा कुनै योगदान नै । उनीहरूले न त युद्ध जानेका थिए न त हतियार चलाउन नै । उनीहरूको यौटै आशा थियो, जागिर पाउने । 

प्रचण्डले लडाकुलाई प्रशिक्षण दिएको बहुचर्चित शक्तीखोर भिडियोलाई आधार मान्ने हो भने माओबादीसँग करीव सात हजार मात्र लडाकु थिए । ति मध्येपनि नजिकै आएको संबिधानसभा निर्वाचनमा शक्ती प्रयोग गरी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सशक्त भुमिका खेल्न सक्ने प्रथम रोजाईका लडाकुलाई उसले क्यानटोनमेन्टमा राख्न चाहेन र नाबालक, घाईते, सुत्केरी, केही कमाण्डर र थोरै संख्याका लडाकुलाई मात्र राख्यो । नयाँ भर्ती भएका र आफ्ना चार पाँच हजार जति वास्तवीक लडाकु समेत समेत तीस हजार भन्दा बढीलाई जनयुद्ध लडेकै लडाकुका रुपमा स्विकार्न काँग्रेस एमाले तयार भए । जागिर पकाउन नेपाल झरेका अन्मीनका प्रतिनिधीले त्यसलाई अस्विकार गरेर जागीर धरापमा पार्न नचाहनु स्वभाविक थियो र त्यही भयो । अयोग्य ठहरीएका लडाकु पनि युद्ध नलडेको अयोग्य ठहरिएका होईनन् अधिकांश उमेर नपुगेका लडाकु हुन् । बरु, उमेर नपुगेकैले अयोग्य हुन पुगेकामध्ये केही सय वास्तविक लडाकु पनि थिए । 

यसरी, माओबादीले संबिधान निर्माणको पुर्व सर्त बनाएको लडाकुको सम्मानपुर्ण समायोजन वा पुनःस्थापना को मुद्धा मुख्य रुपमा जनयुद्ध पनि नलडेका र संबिधानसभाको निर्वाचनमा पनि मत दिने बाहेक अरु कुनै योगदान नगरेका अधिकांश कृतिम लडाकुको मुद्धा थियो । उसले नेपाली सेनामा ६ हजार जतिको समायोजन हुने वा आठलाखसम्म रकम क्यान्टोनमेन्टका लडाकुले पाउने परिश्थिती आउने पुर्वानुमान कहिल्यै गरेको थिएन । उ भित्री रुपमा  शान्ति प्रक्रियामा प्रवेश नै नगरीे र सत्ताकब्जा गर्ने प्रयोजनका लागि सशस्त्र युद्धको तयारीका गर्न क्यान्टोनमेन्टका लडाकु र जनपरिचालनका लागि वाईसीयलको प्रयोग गर्ने रणनीतिका साथ देश र दुनियालाई छक्काउदै शान्ति प्रक्रियामा रहेको नाटक मात्र गर्दै आएको थियो । तर, परिश्थिती उसले सोचे अनुसार अगाडि बढेन । अहिले माओबादी यस्तो परिश्थीतीमा आईपुग्यो कि उ आम जनतालाई आफुले  चाहेबमोजिमको सत्ताकब्जाका लागि तयार पार्न असफल मात्र भएन शान्ति प्रक्रियाका लागि झुक्नै पर्ने अवस्थामा पुग्यो, बिश्व समुदायलाई आफु प्रजातन्त्रबादी नै भएको बिश्वास दिलाउनै पर्यो र त्यतिमात्र नभई बहुदलीय प्रजातन्त्र, कानुनी राज्य, स्वतन्त्र प्रेस लगाएतका उसले बुर्जवा भन्ने गरेको राज्य ब्यवस्थाका आधारलाई भित्री रुपमा नै स्विकार्नु पर्यो । उ क्यान्टोनमेन्टभित्र लडाकु र बाहिर वाईसीयलको अर्धसैनिक संरचना दुबै भंग गर्नुपर्ने बाध्यतामा पुग्यो । परिणामतः माओबादीका लागि ज्यानको बाजी थापेका कार्यकर्तासँग ठाडो शिर गरेर हेर्न नसक्ने अवस्थामा माओबादीका नेता पुगेका छन्, वाईसीयलले माओबादीका कार्यालयहरू कब्जा गर्न थालेका छन्, लडाकुका सवारी साधन कब्जामा लिन सुरु गरेका छन् र माओबादी नेतृत्वका बिरुद्ध एकतृत हुन थालेका छन् । 

के अव माओबादीले चाहँदैमा वाईसीलमा पठाईएका ३ हजारको संख्यामा रहेका युद्धकलामा पोख्त लडाकुलाई सेनामा समायोजन गर्न संभव छ ? क्यान्टोनमेन्टमा जागिर दिने प्रलोभनमा छिराईएका र योग्य बनेर ५ लाखभन्दा बढी रकम लिएर फर्कदै गरेका लडाकुको आधा पैसा लिएर वाईसीयललाई दिनु सजिलो छ ? फर्किसकेपछी तिनको सुरक्षाको जिम्मा लिन माओबादी नेतृत्व सक्षम छ ? फेरी लडाकु क्यान्टोनमेनटमा छिरेसँगै होल टाईमर बनेर वाईसीएलको अर्धसैनिक संरचनामा छिरेका पचास हजारको संख्यामा रहेका युवाहरूलाई माओबादीले कसरी न्याय दिन्छ ? अहिले समाचारमा आएजस्तो माओबादीले वाईसीयलमा काम गरेका पुर्व लडाकुलाई आर्थिक सहयोग दिने हो भने त्यसका लागि उसको श्रोत के ? सत्ताकब्जा गर्ने भन्दै कार्यकर्तालाई र शान्ति प्रक्रियाप्रति इमान्दार रहेको भन्दै दुनीयालाई एकसाथ झुक्याउँदै आएकोमा अव पनि यसै गरेर संगठन जोगाउन सकिने आँट माओबादी नेतृत्वमा छ ? 

दःुखको कुरा, माथिका कुनै पनि पनि प्रश्नको चित्तबुझ्दो जवाफ माओबादी नेतृत्वसँग छैन । माओबादी सत्य बोल्ने अवस्थामा अहिले पनि छैन, बिगतमा पार्टीको काममा लागेर ब्यक्तिगत र पारिवारिक भविष्य चौपट बनाएका हुनहार युवासँग बिगतको गल्तीका लागि माफ माग्दै लोकतन्त्रमा उनीहरुको भविश्य देखाउनसक्ने तागत पनि माओबादी नेतृत्वमा छैन । जसको आडमा माओबादी बन्यो र टिकिरहेको छ, उनीहरूकै छातीमा लागेको आगो निभाउन नसक्ने बरु त्यही आगो तापेर बस्ने र संकटमा पनि सत्य बोल्ने आँट नगर्ने नेतृत्वले माओबादी जोगाउँदैन । अस्तु ।