अनिरुद्र न्यौपाने
|
संविधानसभाकै चुनाव त अव कुनै हालतमा पनि संभव छैन र त्यसको तुक पनि छैन तर अवको निर्वाचनमा काँग्रेसी नेताहरू मधेसबादी दलमामात्र नभई सुदुरपश्चिम पार्टी, वाहुन–क्षेत्री पार्टी, नेवार पार्टी, गुरुङ पार्टी, राई–लिम्बु पार्टी, हिन्दु पार्टी, क्रिष्चियन पार्टी लगाएतका क्षेत्रीय, जातीय र साम्प्रदायिक दलका नेता भए भने अनौठो मान्नुपर्ने छैन । काँग्रेसका नेतामा प्रजातन्त्रबादी पार्टीको अंग वन्नुको सट्टा झिना, मसिना र सिद्धान्तहिन समुहको नेता हुने रहर किन पलायो त ? काँगे्रसले कहिल्यै समिक्षा नगरेको यो विषयलाई यहाँ थोरै खोतल्ने प्रयास गरिएको छ ।
२०४८ को आम चुनावमा काँगे्रसले विजय हाँसील गरेपछि अवसरबादीहरू हजारौंको संख्यामा यो पार्टीमा प्रवेश गरे । त्यसपछि पार्टीको नेतृत्व तहमा रहेकाहरूले प्रजातन्त्रको मर्म र पार्टीको आदर्श विपरित योग्यता र क्षमतालाई भन्दापनि चाकडी र चाप्लुसीलाई अवसर वितरणको आधार वनाए । प्रजातन्त्रका लागि लडेका तथा योग्यता र क्षमता भएका असली काँग्रेसहरूको अवसरमा पहुँच पुगेन । प्रजातन्त्रबादीहरू निराश वन्दै पार्टीवाट टाढिंदै गए र नाम मात्रका काँग्रेसीहरूको हाली मुहाली बढ्दै गयो । प्रजातन्त्रका लागि खुन पसिना बगाएका कार्यकर्ता भन्दा जयनेपाल ठोक्दै आफ्ना घरदैलो चहार्नेहरूलाई नेताहरूले प्रीयपात्र मान्नथालेपछि काँग्रेस वन्नका लागि र वनिसकेपछि पनि तीनका लागि प्रजातन्त्रबादी वन्नुपर्ने आवस्यकता परेन । काँग्रेसका नेतासँग पार्टीप्रति वितृष्णा उत्पन्न भएका कार्यकर्तातिर ध्यान दिने फुर्सद पनि भएन । विस्तारै नवकाँग्रेसीहरूले आफूलाई काँग्रेसका वास्तविक कार्यकर्ताका रुपमा प्रश्तुत गर्नथाले । र, नेतृत्वमा चिनिएका काँग्रेसीहरू नै रहेपनि पार्टीमाथिको खास नियन्त्रणचाहिं पार्टी र प्रजातन्त्रप्रति कुनै मोह नभएका आवसरवादीको हातमा पुग्यो ।
निष्ठा नभएका अवसरबादीहरू त जहिले जता पनि लाग्न सक्छन् । पार्टीभित्रको आन्तरिक द्वन्दका कारणले २०५१ मा मध्यावधी निर्वाचन र त्यसमा काँग्रेसको पराजयपछि ती अवसरबादीकालागि यो पार्टी काम लागेन । २०५४ को स्थानीय चुनावको परिणाम त्यसको प्रस्ट प्रमाण हो । एमालेको आन्तरिक द्वन्दका कारणले तीनलाई फेरी काँग्रेसतर्फै फर्कनु उपयुक्त लाग्दा २०५६ मा काँग्रेसले पुनः बहुमत ल्यायो । २०४८ मा काँग्रेसले प्रजातन्त्रबादी कार्यकर्ताको आडमा चुनाव जितेको थियो तर २०५६ मा अवसरबादीको स्वार्थमा । २०५८ सम्म आईपुग्दा पार्टीभित्रैबाट प्रजातन्त्रमाथि घात हुनु तीनै घुसपैठीयाहरूका कारण काँग्रेसको प्रजातन्त्रबादी धार कमजोर भईसक्नु थियो । काँग्रेसका संसदीय दलका नेता एवं मुलुकका प्रधानमन्त्री समेत पार्टीका महत्वपुर्ण नेताहरूलाई प्रभावमा पारी संकटकालन नलगाउनका लागि पार्टीले दिएको निर्देशन नमान्न र प्रजातन्त्रबिरोधीलाई साथ दिन लगाउने तीनै अवसरबादीहरू हुन् । तर, त्यसवेला केही नेतालाई पार्टीको साधारण सदस्यबाट निस्कासन गर्ने बाहेक दरवारको षड्यन्त्रमा पार्टी नेता पर्नुका पछाडिको कारण खोजी भएन । दरवारको षड्यन्त्रमा पार्टीका नेताहरू फस्नु कारण नभई दलभित्र पसेका अवसरबादीहरूले लगामले उनीहरूलाई कसिसक्नुको नतिजा थियो । परिणामलाई कारण ठानेर त्यसबेला काँग्रेसले गरेको गल्तिको अर्को नतिजा थियो पाँच बर्षपछि महन्थ ठाकुर, बिजय गच्छादार लागाएतका नेताको वहिरगमन । आजसम्म आईपुग्दा नेताहरूमा पार्टीे र प्रजातन्त्रभन्दा जातीय र क्षेत्रीय राजनीतिप्रति ज्यादा विश्वास जागेको पनि दलका नेताको खास आधार प्रजातन्त्र र प्रजातन्त्रप्रेमी कार्यकर्ता भन्दा अवसरबादी र तिनका स्वार्थ हुनु नै हो ।
आपूm शक्तिमा हुँदा समाजको प्रजातान्त्रिक रुपान्तरण काँग्रेसको एजेण्डा बनेन । सत्ता वाहिर रहँदा पनि उसकोे ध्यान त्यसतर्फ गएन । त्यसले काँग्रेसमात्र कमजोर भएन समग्र प्रजातान्त्रिक जनमत नै कमजोर भयो । काँग्रेस कार्यकर्ता र आम नागरिक प्रजातन्त्रबारे प्रशिक्षीत हुनु त कता हो कता उल्टै अतिबादी र अवसरबादीको संगतका कारण काँग्रेसका नेताहरूको प्रजातन्त्रप्रतिको प्रतिवद्धतामा नै कमी ल्यायो । पद र पैसाको भोकका अगाडी प्रजातन्त्रको मुल्य र मान्यता निरिह बन्दै गयो । परिणामतः अहिले स्वयं प्रशिक्षित केही नेता र कार्यकर्ता बाहेक काँग्रेसमा प्रजातन्त्रलाई साच्चै मायाँ गर्नेहरूको संख्या नगन्य छ ।
बाह्रौं महाधिवशनमा त धेरैको संख्यामा प्रजातन्त्रबादी पुरानो पुस्ताले काँग्रेसको सदस्यता नै नविकरण गरेन । सदस्यता नविकरण गरेका केहीलाई पनि पार्टीको प्रतिनिधी बनाईएन । युवा प्रतिनिधित्वका नाममा पार्टीमा छिरेका र प्रजातन्त्र कुन चराको नाम हो थाहा नभएका नवप्रवेशीहरू महाधिवेशनमा निर्णायक भए । गुण्डा परिचालनको क्षमताका कारण नेता बनेकाहरू पनि धेरै छन्, काँग्रेसमा । महन्थ ठाकुर जस्तो इमान्दार ठानीएको व्यक्तिले त आफ्नै इतिहास विर्से भने अराजक भिडबाट नेता बनेकाहरू जतिखेर पनि पार्टी छोडेर जातीय र क्षेत्रीय समुहहरूमा आवद्ध हुदैनन् भन्ने आधार के ? यसले काँग्रेसको नेतृत्वमा समाजको प्रजातान्त्रिक रुपान्तरण हुनु त कता हो कता प्रजातान्त्रिक पार्टीको रुपमा यसको अस्थित्व नै समाप्त हुने खतरा देखाउँछ । व्यक्ति सर्वोच्च हुने प्रजातान्त्रिक व्यवस्थाको ओकालतकर्ता दलका सांसदहरू अमुक समुहको अग्राधिकारका लागि घोर अप्रजातान्त्रिक तत्वहरूले तयार गरेको दस्तावेजमा हस्ताक्षर गर्न पुग्ने अवस्थालाई के भन्ने ?
अहिले काँग्रेसका धरै नेता तथा कार्यकर्ताको अभिव्यक्ती माओबादीका नेताको जस्तो उत्तेजक छ । पार्टीको आदर्शवाट यताउता गर्नेहरूभन्दा भिडको ताली पाउने लालसामा विपक्षीहरूको सत्तोसराप गर्नेहरू पार्टीभित्र वढि लोकप्रीय छन् । हुनत, काँग्रेसले गणतन्त्रमा जाने निर्णय पनि भिड हेरेरै गरेको हो तर त्यसो भन्दैमा काँग्रेसका नेता कम्यूनिष्टहरूजस्तै नाङ्गिएर प्रस्तुत हुने हो भने प्रजातान्त्रिक संस्कार बसाउने कसले ? विद्यार्थी राजनीतिबाट आएका तथा प्रजातन्त्रको मूल्य र मान्यताको सैद्धान्तिक ज्ञान पनि भएका नेताहरूले राजनीतिमा प्रजातान्त्रिक संस्कार बसाउनमा महत्वपुर्ण भूमिका खेल्नुपर्ने हो तर तीनका अभिव्यक्तिमा प्रजातन्त्रबादीको झलक नदेखिनु राम्रो कुरा होईन । झ्यालबाट पार्टीमा प्रवेश गरेकाहरूबाट त झन् सालीनता, नैतिकता, प्रजातान्त्रिक आचरण तथा समाजको प्रजातान्त्रिक रुपान्तरणको अपेक्षा कसरी गर्नु ?
संविधानसभाबाट संविधान नवनेपछि लोकतन्त्रको भविश्य अनिश्चित वनेको छ । माओबादीले उव्जाएको र उसकै नेतृत्वमा हुर्केको जातीय र क्षेत्रीय राजनीतिले दलीय र सैद्धान्तिक आधारको राजनीतिलाई विस्थापीत गर्दैगर्दा प्रजातन्त्र र राष्ट्रिय एकता दुवै जोखिममा परेका छन् । आजपनि मुलुकका प्रजातन्त्रबादीहरूले विश्वास गर्ने काँग्रेस बाहेक अर्को दल नभएको अवस्थामा यो पार्टीले निकै दह्रो खुट्टा टेक्न सकेन भने मुलुकले यो अवस्थाबाट पार पाउन गार्हो छ । पार्टीका नेता भनिएकाहरूको प्रजातन्त्रप्रतिको वर्तमान प्रतिवद्धता के हो ? उनीहरू प्रजातन्त्र र मुलुकको भविश्य चाहन्छन् कि एउटा जातीलाई माझी र अर्को जातिलाई माछा बनाएर मुलुकलाई हाईटी वा लाईबेरीया बनाउन चाहन्छन् ? वाह्य शक्तिद्वारा संचालितहरू र अवसरवादीहरूको लहैलहैमा कद्न छोडेर यसका वारेमा गम्भिर बहस काँग्रेसले गर्नैपर्छ । अव तुरुन्त समाजको प्रजातान्त्रिकरणका लागि काँग्रेसले हस्तक्षपकारी भूमिका खेल्नुपर्छ ताकि सवै जात–जाति, बर्ग, क्षेत्र, लिंग र संप्रदायका जनता प्रजातन्त्रले नै आफुहरूको सवैभन्दा बढि हित गर्छ भन्नेमा विश्वस्त हुन् । अन्यथा, न रहन्छ काँग्रेस न रहन्छ प्रजातन्त्र ।
२०६९ जेष्ठ २३ गतेको राजधानी दैनिकमा प्रकाशीत
२०६९ जेष्ठ २३ गतेको राजधानी दैनिकमा प्रकाशीत
No comments:
Post a Comment