Thursday, January 10, 2013

राष्ट्रिय एकताका प्रतिकको अपमान

अनिरुद्र न्यौपाने

नेपाल चार वर्ण छत्तीस जातको साझा फुलबारी हो, सबैलाई चेतना भया । विशाल नेपालका पहिलो राजा पृथ्वीनारायण साहले नेपाल र नेपालीका लागि झन्डै अढाई सय वर्षअगाडि दिएको उपदेश हो यो । यो उपदेशभित्र नेपालको यथार्थ र राष्ट्रिय एकताको आधार अन्तरनिहित छ । नेपालमा फरक–फरक संस्कृति, मूल्य–मान्यता र पहिचान बोकेका जातजाति र भाषाभाषी छन् । हरेक जातिका आ–आÏनै रहनसहन, जीवनशैली र भेषभूषा छन् । त्यसैले नेपाल एउटा बगैंचा हो यहाँका सबै जातजाति भनेका बगैंचामा फुलेका अनगिन्ती फूल हुन्, जसले यो बगैंचालाई शोभा दिइराखेका छन् । साढे दुई शताब्दी अगाडि यो तहको बौद्धिकता र दूरदृष्टि प्रस्तुत गरेका पृथ्वीनारायण शाहप्रति सबै राष्ट्रियता पक्षधर नेपाली जनताले उच्च सम्मान गर्नुपर्छ । 


नेपालमा पछाडि परेका र पारिएका जाति र जनजातिले आÏनो हक र हितका लागि आवाज उठाइराखेका छन् । उनीहरूले जातीय स्वशासन र आत्मनिर्णयसहितको स्वायत्त राज्य गठनलाई आÏना सारा समस्या समाधानको आधार ठानेका छन् । व्याख्या जे जसरी गरिए पनि कुनै पनि स्वायत्त राज्यको आत्मनिर्णयको अधिकार भनेको त्यहाँका जनताले चाहेका बखत फरक राष्ट्रका रूपमा उक्त राज्यलाई छुट्ट्याएर नयाँ राष्ट्र निर्माण गर्न पाउने स्वतन्त्रता हो । अर्थात् नेपालमा प्रकारान्तरले राज्यको विभाजन गर्न पाउनुपर्ने सम्मका माग उठेका छन् । यसरी जातीय आधारमा राज्यको विभाजनको रेखा कोरिँदै गर्दा पृथ्वीनारायण शाहको दिव्योपदेशलाई एक पटक फेरि सबैले मनन गर्नुपर्ने बेला आएको छ । यो उपदेशभित्र अन्तरनिहित रहेका मूल्य, मान्यता र आदर्शको विश्लेषण गरी राज्य सञ्चालनको मार्गदर्शक सिद्धान्तका रूपमा समेत यसलाई प्रयोग गर्नुपर्ने बेला आएको छ । नेपालको शासक वर्गले राष्ट्र निर्माताको दिव्योपदेशलाई उनको सुन्दर भावनाका रूपमा मात्र सम्झिने काम ग¥यो ।
त्यसमा पनि २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भएसँगै पृथ्वीनारायण शाहको आत्मामा समेत ज्ञानेन्द्रको छायाँ देख्न थालियो । सरकार र केही राजनीतिक दलले उनको जन्म जयन्ती मनाउनुलाई समेत जनविरोधी कार्य ठाने । त्यो महान् आत्माको हदैसम्म अपमान गरे । दिनदहाडै उनको शालिक तोडफोड हुँदा सरकार मूकदर्शक बन्यो र त्यसमा संलग्न अपराधीलाई कारबाही गरेन । उनको उपदेशलाई आत्मसात् गर्नु त परै जाओस् उनलाई वर्षमा एक पटक सम्झनु समेत बेकार ठानियो । जनआन्दोलन सफल भएर लोकतन्त्र प्राप्ति भएसँगै रोपिएको जातीय विग्रहको बीजबाट पलाएको लहरा फैलिएर राष्ट्रको अस्थित्वसमेत संकटमा पर्ने खतरा बढेको छ । यस्तो बेला उनी र उनको दिव्योपदेशको सान्दर्भिकता अझ बढेको छ ।
जातीय विग्रह आउनुका कारण र यसको निदान दुवैका लागि उनको दिव्योपदेशमा अन्तरनिहित विषय वस्तुको पहिचान र सही विश्लेषण गरिनुपर्छ । यो देश सबै जातिको साझा फुलबारी हो । यो नै नेपालको पहिचान हो र नेपालको सुन्दरता पनि हो । कुनै पनि देशको विकास त्यो देशका जनताको आपसी मेलमिलाप, पारस्परिक सहयोग, एकले अर्कोप्रति गर्ने सम्मान र त्यो देशको सरकारले सबै नागरिकलाई गर्ने समान व्यवहारमा निर्भर रहन्छ । नेपालमा विशेष गरी दलितका नाममा ठूलो विभेद छ । कथित ठूलो र सानो जातको नाममा एकले अर्कोप्रति गर्दै आएको भेदभाव सम्मानपूर्ण जीवनयापन गर्न पाउने आधारभूत मानवअधिकारको खिलाप छ । एउटा सधंै सम्मान खोज्ने र अर्को सधैं अपमान सहने अवस्था रहँदासम्म राष्ट्रिय एकता सम्भव छैन ।

पृथ्वीनारायण शाहले नेपाल बगैंचाको कुनै पनि फूलको शोभालाई कम वा बढी आँकेका छैनन् । जुनसुकै जातको आÏनै पहिचान र महŒवलाई उनले उच्च सम्मान गरेका छन् । एउटा फुलबारीमा भएका कुनै पनि फूलले प्रदान गर्ने शोभा अर्को जातको फूलले प्रदान गर्ने शोभाभन्दा नितान्त फरक हुन्छ र सबैको मौलिक सुन्दरताको समष्टि नै बगैंचाको सुन्दरता हो । बगैंचालाई सुन्दर बनाउन सबै फूलको आ–आÏनै महŒव हुने हुनाले सबैलाई मालीले उत्तिकै हेरविचार गरेजस्तै राज्यले सबै नागरिकलाई उत्तिकै अवसर र सम्मान दिनुपर्ने आशय उनको दिव्योपदेशमा भेट्न सकिन्छ । विगतमा नेपालको संस्थापनले जातीय भेदभावलाई समयमा नियन्त्रण गरेन । निश्चित जातजातिलाई अवसर दियो र अन्यलाई उपेक्षा गर्दै आयो ।

जातीय विग्रह अहिलेको अवस्थासम्म आइपुग्नु यसैको परिणाम हो । यो एउटा कुनै सरकार विशेषका कारणले मात्र उत्पन्न समस्या होइन । त्यसका लागि पारिवारिक स्वार्थका लागि जेसुकै गर्न तयार हुने पृथ्वीनारायणका सन्तान सबैभन्दा जिम्मेवार छन् । लामो समयदेखि निरन्तर राज्यको उपेक्षा सहँदै आएका जनताले राजाबिनाको लोकतन्त्र प्राप्तिपछि स्वतन्त्रताको महसुस गर्दै विगतदेखिका असन्तुष्टि एकसाथ पोख्दा अहिलेको यो अवस्था आएको हो । अर्थात् पृथ्वीनारायण शाहको दिव्योपदेशको मर्मअनुसार विगतको सरकार अर्थात् मालीले बगैंचाका हरेक फूल अर्थात् नेपालका हरेक जातजातिलाई समान किसिमले हेरविचार नगर्दा अहिलेको अवस्था आएको हो । यसको निदान सबैले राज्यबाट समान व्यवहार पाउने कुराको सुनिश्चितता नै हो न कि हरेक जातजातिका लागि उनीहरूले भावावेशका आएर माग गरेको जातीय स्वरूपको आत्मनिर्णयसहितको स्वायत्त राज्यको व्यवस्था ।

दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्रको पुनःस्थापना भइसकेपछि एउटा पक्षबाट नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको गलत ढंगले व्याख्या गर्ने काम भयो । बाइसे र चौबीसे राज्यमा विभाजित नेपाललाई एउटै विशाल राष्ट्रको स्वरूप प्रदान गरेका उनलाई ठूला देशको राजा बन्ने महŒवाकांक्षा पूरा गर्ने नाममा विभिन्न जातजातिलाई दमन र शोषण गरेको तानशाहका रूपमा चित्रण गरियो । एक्काइसौं शताब्दीमा समेत हिंसा र हत्यालाई राज्यसत्ता कब्जा गर्ने आधारका रूपमा व्याख्या गरिराखेको र मानवअधिकारलाई ढोंगको संज्ञा दिइराखेको एनेकपा माओवादी उनलाई त्यस्तो गम्भीर आरोप लगाउनेमा अग्रपंक्तिमा छ । त्यस बेलाको परिस्थितिको सही विश्लेषण नगरी हदैसम्म तल झरेर राष्ट्र निर्मातामाथि त्यस्तो आरोप लगाउनु गलत छ ।

एकाईसौं शताब्दीका राजा ज्ञानेन्द्रमा त जनताले दिएको अधिकारको दुरुपयोग गरेर लोकतन्त्रमाथि गम्भीर षड्यन्त्र गरी राज्यसत्ता एक्लै चलाउने सौख रह्यो भने विश्वव्यापी रूपमा युद्धमार्फत अर्को राज्यमाथि विजय गर्ने प्रचलन सामान्य रहेको त्यो युगमा भएका केही घटनालाई एक्काइसौं शताब्दीको मानवअधिकारको विश्वव्यापी मूल्य र मान्यताको कसीमा नापेर उनलाई त्यस किसिमको आरोप लगाउनु किमार्थ पनि उपयुक्त होइन । पृथ्वीनारायणकै शब्दमा नेपाल सानो दुःखले निर्माण भएको मुलुक होइन । त्यतिका राज्यलाई एउटा व्यक्तिको जीवनकालमा एउटै राज्यमा समाहित गराउनु सजिलै सम्भव हुने कुरा पनि थिएन जुज उनले गरे र हामीलाई विशाल मुलुक उपहार छोडेर गए ।

त्यस्ता महान व्यक्तित्व मुलुकले पाउनु हाम्रो सौभाग्य हो । पृथ्वीनारायण शाह साँचो अर्थमा लोकतन्त्र र मानव अधिकारका पक्षपाती थिए । प्रजा जोदेखि राजी रहन्छन्, उसैलाई काजी दिनु भन्ने उनको वाणीले उनलाई त्यस्तो राजाका रूपमा स्वीकार गर्ने स्पष्ट आधार प्रदान गर्दछ । त्यस बेलाको समयमा अहिलेका प्रजातन्त्रवादी भनिएकाहरूको जस्तो मात्र स्वभाव उनमा भएको भए देशका लागि योगदान गर्न नसक्ने आसेपासेले नै काजीको पद पाउँथे । निर्वाचनमार्फत प्रधानमन्त्री चयन गर्ने व्यवस्थाको परिकल्पनासमेत नगरिएको त्यस्तो समयमा प्रजाको चाहनाको प्रधानमन्त्री हुनुपर्छ भन्ने उनको सुझबुझपूर्ण विचार कम महŒवपूर्ण छैन । त्यसैले लोकतन्त्रमा विश्वास गर्ने सबैले उनलाई आÏनो प्रेरणाको स्रोत ठान्नु जरुरी छ । जुन मुलुकले राष्ट्र निर्माताको सम्मान गर्दैन त्यहाँको राष्ट्रियता दरिलो हुँदैन । अहिले एउटा चुनावी सरकारसमेत मुलुक भित्रबाटै निर्माण हुन नसक्ने अवस्थाको सिर्जना भएको त्यसै होइन । जब देशको इतिहासप्रति त्यो शासकले अपमान गर्न थाल्छन्, तब मुलुक परनिर्भर बन्दछ ।

आज सत्ताको चाबी खोज्न सीमापारि जानुपर्ने अवस्था त्यसै आएको होइन, यो त मुलुकको निर्माताप्रति गौरव गर्ने इच्छाशक्ति नभएका पंगु राजनीतिकर्मीका कारणले आएको हो । त्यसैले नेपाल राष्ट्रको निर्माता र नेपालको राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको सम्झना र सम्मान राष्ट्रियता प्रवद्र्धनको आधार पनि हो । लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, विभिन्न धर्म र सम्प्रदायका चाडपर्व सबै मनाउन सक्ने नेपाल सरकारले राष्ट्र निर्माता र एकताका प्रतीकको जन्म जयन्तीलाई राष्ट्रिय दिवसका रूपमा भव्यताका साथ मनाउन कञ्जुस्याइँ गर्नु किमार्थ पनि राम्रो होइन ।


२०६९ पौष २७ गतेको राजधानी दैनिकबाट 

No comments:

Post a Comment