Thursday, February 23, 2012

भ्रष्टाचार नियन्त्रणका लागि अध्यात्म

अनिरुद्र न्यौपाने 
राजनीति गर्नेहरू कमाउनका लागि नभई जनताको सेवाका लागि राजनीतिमा लागेका हुन् भनेर सायदै नेपालीले पत्याउलान् । कर्मचारी प्रशासनमा जनताप्रति इमान्दार ब्यक्ती हुन्छन् भनेर पत्याउने पनि ज्यादै कम छन् । प्रहरी प्रशासन र न्यायालयमा भ्रष्टाचार हुदैन भनियो भने ठट्ठा सम्झीएर नहास्ने पनि सायदै होलान् ।  त्यसैले भ्रष्ट निकाय, भ्रष्ट राजनीतिक दल, भ्रष्ट ब्यक्ती, भ्रष्ट उद्योगी, भ्रष्ट ब्यापारी, भ्रष्ट कर्मचारी, भ्रष्ट प्रजातन्त्रबादी, भ्रष्ट कम्युनिष्ट, भ्रष्ट राजाबादी, भ्रष्ट नेपाली वा भ्रष्ट बिदेशी जोसुकै हुन्, भ्रष्टाचारको सिमाना यति ति ब्यापक भईसकेको छ कि भ्रष्टाचार र भ्रष्टाचारीका सम्बन्धमा सम्पुर्ण ब्याख्या गरेर महाकाब्य निकाल्ने हो भने त्यसले ब्यासले रचना गरेका अठारै पुराणको मेख मर्नेछ । अर्थात्, भ्रष्टाचार र भ्रष्टाचारीको बयान गर्न प्रायः असम्भव छ । 

नेपालीे राजनीतिको मात्र कुरा गर्ने हो भने भ्रष्टाचार प्रति आशक्ती नभएको राजनीतिकर्मी भेट्न प्रायः असंभव छ । स्वच्छ छवीका मानीएका बर्तमान प्रधानमन्त्री यदि प्रत्यक्ष रुपमा आफैं भ्रष्टाचारमा संलग्न छैनन् भनेपनि उनीसँग जोडिएका थुप्रै अनियमीतता र भ्रष्टाचारका समाचार बाहिर आएका छन् । उनी प्रधानमन्त्री भएयता मात्रै करोडौं रुपंैया राज्यकोषबाट हिनामिना भएको खवर सञ्चारमाध्यम मार्फत बाहिर आएका छन् । बालुवाटारका सभा–सम्मेलन र भोज भतेरका लागी उनले यस अघिका सबै प्रधानमन्त्रीको मेख मर्ने गरी खर्च गरेका छन् । उनी प्रधानमन्त्री भएपछि आफैंले स्थापना गरेको युवा स्वरोजगार कोषको रकम हिनामिना भएको प्रमाण सार्वजनीक भयो । हुँदै नभएका लडाकुका नाममा मासीक लाखौं रकम निकाशा गरेर आफैं उपाध्यक्ष रहेको दलभित्र संस्थागत भ्रष्टाचार बढाउनमा उनको ढूलो हात रहेको देखियो । आफ्नो मन्त्री परिषद्मा रहेका वरिष्ठदेखि कनिष्टसम्म धेरै जना मन्त्री भ्रष्टाचारजन्य अपराधमा संलग्न भएको सार्वजनिक भईरहँदा आफ्नो पद जोगाउनकै लागि उनले तिनीहरूमाथि कुनै कारवाही गरेका छैनन् । त्यतिमात्र नभई ठुल्ठुला नियुक्ती, सरुवा, बढुवा र ठेक्कापट्टाका संबन्धमा उनी आफ्ना निकटहरूको प्रभावमा परेको केही समाचार पनि पत्रपत्रिकामा आएका छन् भलै त्यसको पुष्टि भएको छैन । जे होस्, स्वच्छ छवी भनीएका राजनीतिज्ञलाई पनि अभ्रष्ट भन्ने आधार कम्तीमा आम नागरिकसँग छैन भने बाँकी अभ्रष्ट खोज्ने कसरी ?

धेरैले नाम सुनेको, देखेको र थोरै अनुभव गरेको आधारमा २०४६ साल यता सार्वजनीक पद धारण गरेका राजनीतिकमीहरूमध्ये चार जना ब्यक्तीत्वहरू भ्रष्टाचारजन्य गतिबिधिबाट टाढै रहेको नेपाली समाजले बुझेको छ । ती मध्ये तीन जनाले नेपाली काँग्रेसबाट राजनीति गरेका हुन् भने एक जनाले नेकपा एमालेबाट । भ्रष्टाचारप्रतिको आशक्ती दुर गर्नका लागि आवस्यक पर्ने ब्यक्तीगत गुण पहिल्याउनका लागि यि उदाहरण यहाँ प्रश्तुत गर्न खोजिएको हो जसको आधारमा अभ्रष्ट ब्यक्ती पहिचान गर्न र भ्रष्टाचार बिहिन समाज निर्माणको बातावरण आधार तय गर्नका लागि थोरै पहल गर्न पनि सकियोस् ।

२०४८ सालको आम निर्वाचनबाट गठित गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारमा कृषी मन्त्री बनेकी प्रजातन्त्र सेनानी शैलजा आचार्यले मन्त्रालयमा हुने गरेको भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्वबाट पर्याप्त सहयोग नपाएपछि पदबाटै राजीनामा दिईन् । पछिल्लो समयमा काँग्रेसबाट सार्वजनीक पद धारणगर्नेहरूको भ्रष्ट प्रबृतिका कारणले पार्टीनै बद्नाम भएको महशुस गरी दलको महत्वपुर्ण नेताको हैसियतले त्यस्तो बद्नामीको नैतिक जिम्मेवारी आफ्नो पनि हुने ठहर गरी गल्तीको प्रायश्चीत गर्नका लागि जिवनको उतराद्र्धमा सातदिनसम्म आफ्नै निवासमा उपवास सहित आफैंलाई स्वयं नजरवन्दमा राखिन् । बिवाहसमेत नगरेर आफ्नो जिवन प्रजातन्त्रका लागि सुम्पिएकी शैलजाको अभ्रष्ट चरित्रमाथि जिवनपर्यन्त कसैले प्रश्न उठाउन पाएन । 

काँग्रेसका संस्थापक नेता किशुनजी अर्का त्यस्तै पात्र हुन् जसले मुलुकको प्रधानमन्त्री भएर पनि भौतिक सुख र सुविधाप्रति जिन्दगीभर कुनै मोह देखाएनन् । प्रजातन्त्रका लागि सिंगो जिवन उत्सर्ग गरे, बिवाह गरेनन् र भ्रष्टहरूको संगतबाट टाढाको कुटीमा गिता पाठ गर्दै, अध्यात्ममा रमाउँदै र सबैलाई प्रेमको महत्व बुझाउँदै प्राण त्याग गरे । प्रजातन्त्रका बिरुद्ध कुनैपनि सर्तमा न त दरवारसँग संझौता गरे न त अहिलेका माओबादीसँग नै । आफैं हुर्कीएको, पढेको र राजनीतिक रुपमा दिक्षीत भएको मुलुकका आस्थाका धरोहर महात्मा गान्धीलाई आफ्नो पनि राजनीतिक आदर्श बनाए तर त्यही देशका शासकसँग राष्ट्रियताका सन्दर्भमा पनि कुनै संझौता गरेनन् । किशुनजीलाई भ्रष्ट राजनीतिज्ञ ठान्ने पनि सायदै कोही नेपाली होला । 
अर्का राजनीतिक पात्र हुन् काँग्रेसका बर्तमान सभापति सुशील कोईराला । उनलाई महत्वपुर्ण सार्वजनीक पद कहिल्यै धारण नगरेकोले भ्रष्ट नभएको तर्क गर्नेहरू पनि छन् तर धेरै समय सत्ताको नजीक रहेको पार्टीको महत्वपुर्ण हैसियतमा रहँदै आएका कोईरालाले चाहँदा अकुत संपती आर्जन गर्नबाट उनलाई कसैले रोक्न सक्दैनथ्यो । शैलजा र किशुनजीजस्तै पारिवारीक बन्धनबाट टाढै रहेका कोईरालाले पनि जिन्दगी प्रजातन्त्रकै लागि सुम्पीए, प्रजातन्त्रबिरुद्ध कसैसँग संझौता गरेनन्, गर्न अहिले पनि तयार छैनन् र भ्रष्टको संरक्षणका लागि पार्टीभित्रै उठेको आवाजलाई निस्तेज पारेर आफ्नो अभ्रष्ट चरित्र कायाम राखिरहेकै छन् । 

सार्वजनीक पद धारण गर्ने बित्तिकै मुखैमा आएको करोडौंको घुस अस्विकार गर्दै नेपालको नयाँ पुस्तामा पनि  भ्रष्टाचार बिरोधी अनुहार छन् भन्ने सन्देश दिएका नेकपा एमालेका युवा नेता गोकर्ण बिष्टलाई पनि अभ्रष्ट ब्यक्तीको सुचीमा राख्नैपर्छ । घुस बिनाको राजनीति संभव हुन्छ भन्ने उदाहरण दिएका  बिष्ट अर्का आशलाग्दा राजनीतिकर्मीको रुपमा उदाएका छन् । 
       
दुई जना राजनीतिज्ञ, चिरञ्जीवी वाग्ले र जेपी गुप्ता भ्रष्टाचार प्रमाणीत भएर जेलमा पुगेका छन् । अरु केहीलाई त्यस्तै मुद्धा लागेको छ । तर, ठूला दलका ठुलै नेता लगाएत हजारौं भ्रष्टहरूको कब्जामा नेपाली राजनीति छ । तिनलाई कहिल्यै कुनै मुद्धा लागेको छैन र सायद लाग्ने पनि छैन । तिनैले एकाध अभ्रष्टहरूको उपस्थितीलाई पनि गौण बनाईदिएका छन् । त्यसैले, राजनीतिक सुद्धिकरणलाई अभियानकै रुपमा अगाडी नबढाउने हो भने यो देशमा भ्रष्टाचार निर्मुल हुने र गरीवले सुख पाउने दिन आउने अपेक्षा गर्न सकिदैन । 

आज बाबु आमासँग १० रुपैंया नाफा गरेर गुच्चा खेल्ने बालबालीकामध्येबाटै भोलीको राजनीज्ञ, प्रशासक, न्यायकर्मी वा सुरक्षा अधिकारी बन्ने हो । बदमासी गर्न नहुने, राज्यको ठूक्ुटी आफ्नो ब्यक्तीगत हितमा प्रयोग गर्न नहुने, घुस खान नहुने जस्ता महत्वपुर्ण बिषयमा अध्ययन गराईने नैतिक शिक्षालाई बिद्यालयको पाठ्यक्रमबाट हटाईएको छ । घसा लिने र दिने राज्यका सत्रु हुन् भन्ने पृथ्वीनारायणको दिब्योपदेशलाई प्रचार गर्दा तानाशाहको प्रशंसा हुने भयले पाठ्यक्रमबाट त्यस्ता बिषय हटाईएका छन् । धर्म र अध्यात्मलाई रुढीबाद भन्दै नास्तीक भौतिकबादी बन्नुपर्छ भन्नेहरूको जताततै बोलवाला छ । अहिलेको युवा जमात अध्यात्मलाई पागलपनको संज्ञा दिन्छ । यो पुस्तालाई  किशुनजीको  गितामोह र शैलजाको अध्यात्मीक आत्मसुद्धिको उपाए वा शुसील कोईराला लगाएत तिनै जनामा रहेको  राष्ट्र र प्रजातन्त्र प्रतिको प्रेमले तान्दैन । अहिलेको पुस्ता गोकर्ण बिष्टबाट सिक्नु पर्ने पनि केही देख्दैन बरु उनको ब्यवहार देख्दा अचम्म मान्छ र हाँस्छ ।

राजनीतिमा लाग्नेलाई बिवाह नै नगर भन्न सकिदैन । प्रायः बैवाहिक बन्धनमा बााधीएका  ब्यक्तीहरूमा अध्यात्मीक चेतना र मृत्युको भय नहुँदा आफ्नो र परिवारको लागि राज्यकोषको दुरुपयोग गर्ने चाहनाले देश नै भ्रष्टाचारीको अखडा बनिरहेको छ । माथि उल्लेख गरिएका मध्ये तीन जना अविवाहीत हुनाले उनीहरुमा दुनीयाप्रति समान प्रेम भाव रह्यो र अध्यात्मीक चेतनाले बदमासी गर्नबाट रोक्यो । मन्त्री हुने बित्तिकै सांघातीक आक्रमणमा परेका बिष्टमा अन्य स्वास्थ्य समस्या पनि छन् । उनी र उनको हित चाहने हामी कसैका लागि पनि यि कुरा राम्रा हैनन् तर सायद यि कुराले उहाँमा जिवनको मुल्य बुझ्ने र अध्यात्मबोध गर्ने अवसर दिलाएको हुनुपर्छ जसको कारणले उनी भ्रष्ट हुनबाट जोगीए । उनलार्ई अशल स्वाथ्य सहितको दिर्घजिवनको कामना ! उल्लेखीत चारजना राजनीतिज्ञको उदाहरणबाट के देखिन्छ भने ब्यक्तीमा अध्यात्मबोध भएमा भ्रष्टाचारप्रतिको आशक्ती स्वतः  समाप्त भएर जान्छ । 

धर्म र अध्यात्म फरक कुरा हुन् । धर्मले ठुला ठूला यज्ञ गर्न, धेरै दान गर्न र भौतिक रुपमा देखीने काम गर्न मानीसलाई प्रेरित गर्छ जसका लागि धनसम्पती चाहिन्छ र मानिस धर्मका लागि पनि भ्रष्टाचार गर्दछ ।  त्यस बिपरित अध्यात्मले आफ्नो आत्मामाथि अन्याय गर्न दिदैन र भ्रष्टाचारमा लिप्त हुनबाट मानिसलाई रोक्दछ । त्यसैले, अहिलेका बालबालीकाका लागि अध्यात्मीक शिक्षा र चेतना तथा वर्तमान राजनीतिक पुस्तामाथि अध्यात्मिक हस्तक्षप नै भ्रष्टाचार निवारणको सबैभन्दा उत्तम बिकल्प हो । 

नेपाल धर्म निरपेक्ष मुलुक हो तर अध्यात्म निरपेक्ष मुलुक हैन । त्यसैले अध्यात्मद्वारा समाज परिवर्तन राज्यकै मुद्धा हुनुपर्छ । यसका लागि अध्यात्मीक अभियानमा राज्यले लगानी गर्नैपर्छ । अध्यात्मबाट भ्रष्टाचार मात्र नभई हरेक खालका अपराध र सामाजिक बिकृतिबाट पनि मुलुलाई छुटकारा दिलाउन संभव छ । यो कुरालाई सरकारले स्विकार नगर्ला तर सभ्य र भ्रष्टाचार बिहिन समाजको चाहना बोकेका नेपालीहरू एक भएर अध्यात्मीक चेतना फैलाउने हो भने सकरात्मक परिवर्तन अवस्य हाता लाग्नेछ ।                      
            

          (२०६८ फाल्गुन १२ को राजधानी दैनिकमा प्रकाशीत)