Sunday, April 8, 2012

पूर्वराजालाई खुला पत्र

श्री ज्ञानेन्द्र शाहज्यू
नागार्जुन दरवार, काठमाडौं ।

हुनत, बिगतमा तपाईं र तपाईंका अग्रजलाई प्रजातन्त्र बिरुद्ध उकास्दै आफ्नो पेट भरेका र वास्तविक जनता को हुन् चिन्नबाटै राजसंस्थालाई रोकेका पूर्वपञ्च लागाएतका लोभिपापीहरूको झुण्ड बाहेक अरुसँग खासै सम्पर्क नभएका तपाईंलाई यो पत्र पढ्न सुझाउने को नै होला र ? फेरि, उनीहरुको मात्र कुरा सुन्ने बानी परेका तपाईंले तिनीहरूको घेरा बाहिरका मान्छेको राय–सुझाव समेटिएको पत्र पढ्ने संभावना पनि कति नै होला र ? तैपनि, नेपालका पुर्व राजा र देशको एकिकरण गर्ने योद्धाका सन्तान तपाईंको नारायणहिटी राजदरवार बाहिरको  जिन्दगी अर्थपुर्ण बनोस् भन्ने असल कामनाले यो पत्र लेखी अखवारमा प्रकाशीत गर्ने जमर्को गरेको छु र यसमा तपाईको नजर पर्ने झिनो आशा पनि राखेको छु ।
  
सर्वप्रथम, २०५८ जेठ १९ गते राती भएको राजदरवार हत्याकाण्डका दिन सौभाग्यवस राजदरवार बाहिरै रहेको कारणले ज्यान जोगिएका तपाईंले जसरी मुलुक नै शोकमा डुवेको घडिमा पनि राज्यसहायक र राजाको भूमिका सहजतापुर्वक निर्वाह गर्नुभो र असामान्य अवस्थामा रहेको मुलुकलाई सामान्य अवस्थामा फर्काउनुभो, त्यसको उच्च प्रसंशा गर्दछु । एकातिर परिवारमा परेको शोक र अर्कातिर आफैंमाथि जनताले गरेको आशंका र लगाएको आरोपलाई सहेर आत्मविश्वासपुर्वक मुलुकको राजाको जिम्मेवारी निर्वाह गर्ने तपाईंको शाहसको उच्च मुल्यांकन हुनैपर्छ । 

तर, त्यस्तो आत्मविश्वास, शाहस र क्षमता भएर पनि तपाईंले लामो इतिहास भएको नेपालको राजसंस्था जोगाउन सक्नुभएन । आफु राजा भएको सात बर्षभित्रै राजसंस्थाको अस्थित्व नै समाप्त हुनुले तपाईमा देशका राजाको भूमिका निर्वाह गर्नका लागि आवस्यक योग्यता नभएको देखियो । राजसंस्था समाप्त हुनुका कारण पहिल्याउने जिम्मा सायद तपाईंले आफ्नो भारदारी गर्ने पुर्वपञ्चका प्रतिनिधिहरूलाई नै दिनुभो होला । उनीहरूले तपाईंको योग्यतामाथि प्रश्न उठाउने कुरै आएन । वरु,  बिदेशीहरूले देशका राष्ट्रियता कमजोर पार्न तथा यहाँको धार्मीक र सांस्कृतिक सम्पदामाथि कव्जा जमाउन तपाईंका बिरुद्ध यहाँका राजनीतिक दलहरूलाई उक्साएको र दलहरू तिनैको गोटी बनेको कारणले मुलुकको राजसंस्था ढल्न पुगेको प्रतिवेदन ति भारदारहरूले तपाईंलाई दिए होलान् । सायद, अहिलेपनि त्यही पञ्च प्रतिवेदनको ठम्याई र सुझाव अनुसारै तपाईं अगाडि बढिरहनु भएको होला । तर, वास्तविकता तपाईंले सोचभन्दा र पञ्चले सुझाएभन्दा फरक छ ।

नेपालमा प्रजातान्त्रिक आन्दोलनको सुत्रपात गरेको र २०४६ को जनआन्दोलनको नेतृत्व गरेको दल नेपाली काँग्रेस र आन्दोलनको परिणाम स्वरुप प्राप्त भएको संसदीय व्यवस्था बिरुद्ध प्रजातन्त्र स्थापना भएदेखि नै दरवारले नकरात्मक दृष्टिकोण राख्यो । प्रजातान्त्रिक व्यवस्था बिरुद्ध हिंसात्मक बिद्रोह गरिरहेको शक्तिलाई निश्तेज पार्न सेना परिचालन गर्न जननिर्वाचित सरकारलाई स्वीकृति नदिने, संसद अधिवेशन चल्न नदिन बिपक्षी दललाई उक्साउने लगाएतका गतिबिधीहरू दरवारले तपाईं राजा हुनु अगाडि पनि गरेकै हो । तपाईंले दरवारको त्यहि नीतिलाई नयाँ किसिमले अगाडि बढाउनु भो ।  नेपाली काँग्रेस र त्यसका नेता गिरिजाप्रसाद कोईरालालाई राजसंस्थाको सबैभन्दा ठूलो दुष्मन ठान्नुभो । त्यसबेलाको संसदको मुख्य बिपक्षी दललाई कोईराला सरकारका बिरुद्ध उचाल्ने दरवारको रणनीतिलाई निरन्तरता दिनुभो । गिरिजाप्रसादलाई पद छोड्न बाध्य पार्नुभोे र आप्mनो जालमा पार्न सहज हुने ठानेका शेरबहादुर देउवाका लागि प्रधानमन्त्री हुने वातावरण बनाईदिनुभो । सेना परिचालनका लागि प्रतिपक्ष दल समेतको सहयोगमा मुलुकमा संकटकाल लगाउने अवस्था सिर्जना गराउनुभो । सेनाकै आडमा देउवालाई पनि हटाईदिनुभो अनि काँग्रेस र गिरिजाप्रसाद बिरुद्ध आफ्ना दाजुले अनेक प्रयत्न गर्दापनि जित्न नसकेको युद्ध आपूmले जितेको ठान्नुभो ।   

वाह्रबर्षे बहुदलीय प्रजातान्त्रिक व्यवस्था कालमा भ्रष्टाचार र कुशासन बढेको मात्र तपाईंले देख्नुभो । भ्रष्टाचार अन्त्यका लागि संसदबाट कानुनहरू बनेका, अख्तियार दुरुपयोग अनुसन्धान आयोग शक्तीशाली भएर राजनीतिज्ञ र प्रशासकहरूमाथि पनि मुद्धा चलाउन सक्ने भएको, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको प्रत्याभूतिका कारणले भ्रष्टाचारीको भण्डाफोर हुन थालेको, प्रजातान्त्रिक सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको परिणाम स्वरुप नागरिक सचेतना बढ्दा कुशासनका बिरुद्धमा बलियो जनमत तयार हुँदै गएको लगाएतका कुरा तपाईंले देख्नुभएन र प्रजातन्त्र बिरुद्ध नै कदम चाल्नुभो । त्यो कदम तपाईंका लागिमात्र नभई तपाईंले नेतृत्व गरेको राजसंस्थाका लागि पनि प्रत्यूत्पादक बन्यो ।  

राजा र राजसंस्थाले जतिसुकै खेदो गर्दापनि दरवारलाई साथ दिन नछोडेकोे दल काँग्रेसका सभापति तथा वीपी कोईरालाका सहोदर भाइ गिरिजाप्रसाद कोईरालालाई पदबाट राजिनामा गराउन र प्रजातन्त्र मास्नका लागि तपाईंले अपनाउनु भएको हरकत नै लोमो समयसम्म धेरै नेपाली जनताको आस्थाको केन्द्र रहदै आएको राजसंस्था पतनको मुख्य कारक बन्यो । नयाँदिल्लीमा माओबादी र सात दलका बिच भएको १२ बुँदे संझौता शान्ति र लोकतन्त्र स्थापना गर्ने र तपाईंलाई जनतामा पनि तागत हुन्छ भन्ने सन्देश दिने गिरिजाप्रसादको चाहनाको परिणाम थियो सायद । त्यसमा भारतको पनि चाहना मिलेको भए त्यो संयोग मात्र थियो । त्यसलाई बिदेशीहरूको षड्यन्त्र ठान्नुको कुनै अर्थ छैन । 

तपाईंप्रति ठुलो इख भएपनि गिरिजाप्रसाद कोईरालामा नेपालको राजसंस्थाप्रति ठूलो प्रेम थियो । नेपालको राष्ट्रियताका लागि राजसंस्था महत्वपुर्ण हुनाले काँग्रेसको घाँटी दरवारसँग जोडिएको छ भन्ने धारणा राख्ने वीपीको बिचारबाट प्रेरित कोईरालाले यो संस्था जोगाउनका लागि गरेको अन्तिम प्रयासमा पनि तपाईं बाधक बन्नुभो । स्वर्गिय कोईरालाका अनुसार तपाईंले आफ्ना नातीलाई साँस्कृतिक राजा बनाउन र राजसंस्था जोगाईराख्न उनले गरेको आग्रहलाई पनि लत्याउनुभो । एकातिर तपाईंले राजसंस्था भन्दा पनि आफ्नो पद प्यारो ठानी आफ्ना नातिका लागि पनि राजगद्दी त्याग गर्न नसकेको र आर्कातिर  काँग्रेसकै कार्यकर्ता र अन्य दलहरूलाई पनि बालक राजा राख्ने कुरा चित्त नबुझेको अवस्थामा कोईरालाले चाहेर पनि राजसंस्था जोगाउन सकेनन् । तपाईंले राजगद्दी त्याग गर्नपर्नाको अर्को अर्को कारण यहि थियो भलै त्यो मुल कारण भने थिएन ।   

तपाईका व्यवहारले के देखाउँछ भनें राजसंस्था ढल्नुका यी कारणबारे तपाईं या त बेखवर नै हुनुहुन्छ वा यी कारणमा तपाईंलाई कत्तिपनि विश्वास छैन । तपाईंले आफ्ना विगतका गल्तीका लागि आत्मालोचना त गर्नुभएन नै, त्यसलाई महसुश समेत गर्नुभएको छैन । इतिहासमा कहिल्यै गल्ति नगरेको पात्रका रुपमा आफुलाई उभ्याउने प्रयास गरिराख्नु भएको छ । कहिलेकाहिं मठ मन्दिरमा पुजाआजाका लागि निस्कदा आफ्नो जयजयकार गर्ने भिड देखेर तपाईंलाई आफु  ज्यादै लोकप्रीय रहेको अनुभव हुँदो हो । राजतन्त्र फेरि फर्कने र आफु राजा हुने आशा पनि पलाउँदो हो । तर, यस्तो सपनाले तपाईलाई कहिं पुर्याउदैन । तपाईंलाई ज–जसले गलत सल्लाह दिएर प्रजातन्त्रबिरुद्ध कदमहरू चाल्न सुझाए र ज–जसको लहैलहैमा लाग्दा राजसंस्था नै समाप्त भो तिनको प्रायोजनमा खडा हुने भिडलाई हेरेर तपाईंले फेरी गलत सपनाहरू देख्न थाल्नुभो भने त्यो तपाईंका लागि थप प्रत्यूत्पादक हुनेछ ।

तपाईंको बिगत तथा वर्तमानका व्यवहारप्रति जतिसुकै असहमति भएपनि यो मूलुकको राजा भएको व्यक्ती हुनुका नाताले तपाईंको व्यक्तित्वको प्रयोग यो देशको प्रजातन्त्र र राष्ट्रियताका हितमा गर्न सकिने झिनो आशा सहित तपाईंका लागि केही सुझाव दिने प्रयास गरेको छु । आशा छ, यी सुझाव जनताको हितका साथै तपाईंको बाँकी जिन्दगीलाई अर्थपुर्ण एवं सम्मानपुर्ण बनाउनमा निकै उपयोगी हुनेछन् । 

पहिलो, तपाईंले बिगतमा जानेर वा नजानेर प्रजातन्त्रको बिपक्षमा चालेका कदमका लागि आम जनतासामु आत्मालोचना गर्नुपर्छ जसवाट गल्ती गर्ने तर त्यसलाई नस्वीकार्नेहरूको  बोलवाला रहेको नेपालमा तपाईंको बेग्लै पहिचान बन्नेछ । दोस्रो, बिगतमा राजदरवारको अनुदार सोचका कारण प्रजातन्त्रले हुर्कने मौका नपाएकोमा राजतन्त्रको अन्त्यपछि पनि यो व्यवस्थाका बिरुद्ध कुनै न कुनै चलखेल भईरहेकै छन् । लोकतान्त्रिक व्यवस्थाको स्थायित्व मार्फत आर्थिक सामाजिक रुपान्तरण कुरेर वसेका नेपाली जनता फेरी लोकतन्त्रको सट्टा अर्को कुनै व्यवस्था स्थापना भएको हेर्न चाहदैन् । यस्तो अवस्थामा राजा बन्ने लोभमा त्यस्ता चलखेलको एउटा अंग बन्नुभन्दा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पक्षमा आपूmलाई खरो उतार्नु बुद्धिमानी हुन्छ । तेस्रो, तपाईं पुर्वपञ्चहरूले आपूmलाई राजगद्दीमा चढाउने आशामा उनीहरूलाई एक बनाउने धुनमा लागेको समाचार आएका छन् । विगतमा तपाईंले भर गरेका ती समुहमध्ये कोही गणतन्त्रका पक्षमा त कोही राजसंस्थाको पुनस्थापनाका नाममा राजनीति गर्दैछन् र भोलीका लागि मन्त्री वा प्रधानमन्त्री हुने बाटो बनाईरहेका छन् । उनीहरूको भरमा परेका कारणले क्षति भएको तपाईंको र राजसंस्थाको मात्रै हो उनीहरूको होईन । तिनकै संगठन मजबुद बनाउन लाग्नु तपाईंका लागि सुहाउने कुरा होईन । त्यसैले, बिगतमा राजसंस्थालाई गलत बाटो देखाएर आफ्नो अश्थित्व जोगाएका पुर्वपञ्चहरू सँगको सम्बन्ध त्यागेर आपूmलाई मुलुकको लोकतान्त्रिक मुलधारमा समावेश गराउनुभो भने ति दलसँग रहेको सानो जनमत पनि तपाईंसँगै लोकतान्त्रिक मुलधारमा नै पुग्नेछ र लोकतन्त्र थप मजबुद बन्नेछ ।

तपाईं कमल थापाको नेतृत्वमा चलेको धर्म सापेक्षताको अभियान अन्तरगत केही संकिर्णताबादीहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुदै आउनु भएको छ । तपाईंमा हिन्दुधर्मप्रति आस्था भएपनि यो धर्मभित्रको बिविधता, यसको सम्पन्नता र एकीकरणकारी क्षमताकाबारे जानकारी कम भएको तपाईंको ब्यवहारले देखाउछन् । हिन्दुधर्म कसैले जोगाउनुपर्ने धर्म होइन । आफैं जोगिनु र अझै फिंजारिदै जानु नै यसको बिशेषता हो । त्यसैले, यो धर्मको संरक्षणका नाममा अतिवादीहरूलाई उक्साउने गरी देश दौडाहमा निस्कनुभन्दा यसका अन्तरनिहित तत्व र सन्देश अनुरुप सबै धर्म र सम्प्रदायका जनताको हितमा काम गर्नुमा नै तपाईंको कल्याण छ । 

अन्तमा, योग्य नेपाली नागरिक, कुशल राजनेतादेखि लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति बन्ने सम्मका अवसर तपाईंका सामु छन् । राजनीतिको सट्टा समाजसेवा नै रोज्नुभएपनि तपाईंका लागि आम जनताको सहयोग सहित सम्मानपुर्ण जिवन जिउने पर्याप्त अवसर छन् । अहिलेको संक्रमणलाई अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान सहितको राजनीतिक स्थायित्व प्रदान गर्न पनि तपाईंले सकरात्मक योगदान पुर्याउन सक्नुहुन्छ । तपाईंमा केवल फेरिपनि राजा बन्ने असंभव सपना त्याग्ने क्षमता, लोकतन्त्रप्रतिको इमान्दारीता र बिगतका गल्ती स्विकार्ने इच्छाशक्ती जरुरी छ । नागार्जुनको दरवारमा बसेर भाईभारदार ठानेकाहरूसँग हुक्का गफमा समय खेर फाल्नु भन्दा लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकासमा आफुले सकेको योगदान गर्न म तपाईंलाई हार्दिक अनुरोध गर्छु । 

तपाईंलाई यो देशको लोकतन्त्र र राष्ट्रियताका लागि महत्वपुर्ण भूमिका खेलेको राजनेताका रुपमा देख्न पाउने अपेक्षा सहित यो पत्रको बिट मार्छु ।

तपाईंको सुभेच्छुक,

अनिरुद्र न्यौपाने
फुल्पिङ्कोट –३, सिन्धुपाल्चोक ।         

(चैत्र २६, २०६८ को राजधानी दैनिकमा प्रकाशीत)