Sunday, July 1, 2012

न सफल भए नत असल नै रहे बाबुराम


              अनिरुद्र न्यौपाने
बाबुराम अर्थमन्त्री भएको बेला उत्पादनमुलक क्षेत्रमा लगानी वा नयाँ रोजगारीका अवसरको सिर्जनाकालागि कामै हुन सकेन । काम गरी खानेहरुको एकदिनको तलव कटाएर युवा स्वरोजगारकोषमा केही करोड रुपैंया जम्मा गरेपनि वेरोजगार युवाको उद्यमशिलता बिकासमा उनले सो रकम खर्चने कुनै कार्यक्रम दिन सकेनन् । सात प्रतिशत कायाम रहेको मुल्यबृद्धि उनले अर्थ मन्त्रालय सम्हालेको आर्थिक वर्षमा झण्डै दोव्वर पुग्यो । कम्तीमा सात प्रतिशतको आर्थिक बृद्धि हाँसील गर्ने लक्ष्य रहेकोमा आफ्नो कार्यकालमा उनले कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशत पनि बृद्धि पनि ल्याउन सकेनन् । उनैको बिवादास्पद अभिव्यक्तिका कारण नेप्से खस्कीएर लगानीको वातावरण धुमील भयो । उनको उपलव्धी भनेको राजश्व संकलनमा बृद्धि हो जसका पनि दुईवटा मुख्य पाटा छन् । पहिलो, अघिल्ला सरकारले बनाएका नीति नियम र संरचनाबाट भएका स्वभाविक कामको परिणामस्वरुप कर राजश्वमा भएको केही दरको बृद्धिलाई उनको सफलता मानियो जसको कुनै अर्थ छैन । दश प्रतिशत कर तिरेको भरमा स्रोत नखुलेका सम्पतीको सुद्धिकरण गर्न उनले भ्रष्टहरुलाई दिएको सुविधाको परिणाम स्वरुप उठेको १ अर्व ६० करोड जति राजश्वका कारणले कुल राजश्वमा हुन आएको थप बृद्धि नै उनलाई सफल व्यक्तिका रुपमा चर्चा कमाउनका पर्याप्त बन्यो । वास्तवमा उनी पुर्णत असफल अर्थमन्त्री थिए जसले आफु पदमा रहँदा अर्थतन्त्रका प्रायः सवै परिसूचकलाई नकरात्मक बनाइदिए । 

भट्टराई प्रधानमन्त्री भएको दिन उनले तीनओटा प्राथमिकता सुनाएका थिए – शान्ति प्रक्रिया, संविधान निर्माण र जनतालाई राहत । माओबादीका अध्यक्ष प्रचण्डको शान्ति प्रकृयाप्रतिको केही प्रतिवद्धता, काँग्रेस सभापति सुशील कोईराला लगाएतका केही नेताको निरन्तरको अडान र संविधानसभाको म्याद सम्बन्धमा सर्वोच्च अदालतको अन्तिम फैसलाले गर्दा माओबादीका लडाकु र हतियारको व्यवस्थापनको सवालमा केही प्रगती हुने बाहेक भट्टराईको प्रधानमन्त्रीत्वमा कुनै गणनायोग्य काम हुन सकेन । लडाकु व्यस्थापनको सवालमा पनि प्रचण्डको सहयोगीको भूमिका निर्वाह गर्ने बाहेक बाबुरामले मुलुकको नेताको हैसियतले कुनै भूमिका निभाएका होईनन् । संविधान निर्माण नै नगरी संविधानसभा विगठन भएपछि त प्रधानमन्त्रीको रुपमा मात्र नभई राजनीतिकर्मीका रुपमा पनि उनको औचित्य समाप्त भईसकेको छ । 

झण्डै एक वर्षको अवधिमा चाहेका भए उनले जनताको हितमा थोरै भएपनि काम गर्न सक्थे । तर, जनतालाई राहत दिने उनको भनाई अहिले सायद उनले नै विर्सिसके । आपूm प्रधानमन्त्री भएपछि जनताले उनका दिनैपिच्छेका नयाँ नयाँ तर हावादारी गफ बाहेक केही पाएनन् । अत्यावस्यकीय वस्तुको हाहाकार र महँगी उनको कार्यकालका विशेषता नै वने जुन अहिलेपनि कायाम छ । 

बाबुराम सुशासनका लागि प्रधानमन्त्री भएका हुन् । तर, भ्रष्टाचार होस् तर सरकार नढलोस् भन्ने उनको रवैयाले उनको कार्यकाल कुशासन निकै वढ्यो । सरकारको टिकाउमा खास भूमिका नरहने व्यक्तिलाई भ्रष्टाचारको आरोपमा पदमुक्त गर्ने तर करोडौंको घुस लिएको सूचना पाएपनि आप्mनै दल र मझौला आकारका मधेसबादी दलका सदस्यलाई चुपचाप कुकर्म गर्न दिने सैलीका कारण उनको कार्यकालमा लिखा असुरक्षीत तर किर्ना सुरक्षीत हुँदा मुलुक चुस्नेहरुको राज बढ्यो । आफ्नो बिज्ञापन गर्ने क्षमताका कारणले राजनीतिक नियुक्ती, सरुवा, बढुवा लागाएतका सवालमा आफैंले गरेका गल्तीको दोष सहयोगी र परिवारका निकट सदस्य तर्फ डाईभर्ट गरी आपूm स्वच्छ छविकै भएको भान दिन सफल भएपनि अहिलेसम्म आईपुग्दा उनले दिएका लगभग सवै भ्रम चिरिईसकेका छन् । 

समग्र राजनीतिको कुरा गर्दा पनि सफल राजनीतिज्ञको कोटीमा बाबुरामलाई राख्ने कुनै आधार छैन । बाबुरामले भारतसँगको माओवादी संम्वन्ध राम्रो बनाई भारतकै सहयोगमा बाह्रबुँदे सहमति मार्फत माओबादीलाई शान्तिपुर्ण बाटोमा ल्याउनमा महत्वपुर्ण भूमिका खेलेका हुन् । उनैले पहिल्याएको सैद्धान्तिक बाटोमा हिंडेको भनिएको माओवादी संसद र संबिधानसभाको सबैभन्दा ठूलो बन्नुलाई उनको पनि सफलता मान्न सकिन्छ । तर, उनको नीतिमा रहेको दल माओबादीले ठूलो पार्टीको हैसियतमा निर्वाह गर्नुपर्ने कुनैपनि भूमिका निर्वाह गर्न सकेन । समान्य राजनीतिक परिस्थीतिलाई असामान्य वनाउने र नयाँ नयाँ संकट सिर्जना गराउने काममा नै उसले चार वर्ष वितायो । आफ्नो पार्टीको सवैभन्दा ठूलो हिस्सा रहेको संविधानसभा संविधान बनाउन नसकी विगठन भएपछि त माओबादीकालागि आफ्नो पार्टीको औचित्य पुष्टि गर्ने कुनै आधार बाँकी नै छैन ।  त्यतिमात्र नभई राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका लागि भन्दै छिमेकीलाई सरापेर संगठन वनाएको पार्टीले उसकै सल्लाह अनुसार काम गर्ने ठानीएका दलहरूमात्रैको साथ लिएर सरकार वनाएदेखि यो पार्टीको राष्ट्रियताप्रतिको अडानमा समेत प्रश्न खडा भयो । भट्टराईको नीति र व्यवहारका कारणले पार्टीकै औचित्य प्रायः समाप्त भएको अवस्थामा एउटा राजनीतिकर्मीका रुपमा आफ्नो औचित्य सावित गर्ने कुनै आधार बाबुरामसँग बाँकी  छैन ।  

भट्टराई आफ्नो बलबुुताले प्रधानमन्त्री भएका होईनन् । छिमेकी मुलुकसँगको संबन्ध सुधार गर्ने तथा दलभित्रको समिकरणमा आफुलाई बलीयो बनाउने रणनीति स्वरुप प्रचण्डले उनलाई एउटा कार्डका रुपर्मा  प्रयोग गरेका मात्र हुन् भलै अहिले प्रचण्डले आफू फसेको महशुस गरेजस्तो देखिन्छ । नीति र नेता एउटै हुन्छ र हुनुपर्छ भन्ने उनको तर्कलाई उनको पार्टीका कार्यकर्ताले या महत्व दिएका छैनन् या त उनलाई पार्टीको नीति निर्माताका रुपमा स्वीकार गरेका नै छैनन् । सायद त्यसैले उनका पक्षमा केन्द्रीय समिति लगाएत पार्टीका सबै संरचनामा नगन्यमात्र मत छ । वाह्य दवाव वा प्रचण्डको आफ्नै चाहना बाबुरामको चाहनासँग मिलेको अवस्थामा बाहेक उनको एजेण्डा कहिलेपनि माओबादी पार्टीको निर्णय वनेको छैन । दलीय आधारको संसदीय प्रजातन्त्रमा दलभित्र अल्पमतमा भएको व्यक्ति मूलुकको मुख्य कार्यकारी नबनोस् भन्ने हेतुले सम्वन्धित दलको संसदीय दलको नेतामात्र प्रधानमन्त्री हुने व्यवस्था गरिएको हुन्छ । तर, हाम्रो संबिधानमा कथीत सहमतीय सरकार बनाउने नाममा यो व्यवस्था हटाउँदा न्यूनतम नैतिक घेरा समेत नाँघेर पार्टीमा दशप्रतिशतको हैसियतका व्यक्ति प्रधानमन्त्री बन्ने परम्परा वस्यो । बाबुराम यसका उदाहरण हुन् । त्यसैले, व्यवहारतः वाबुराम मुलुकको प्रधानमन्त्रीजस्तो पनि देखिएनन् । 

केही सञ्चारमाध्यमको कच्चापनका कारण नेपालमा केही व्यक्तिहरुले जेसुकै गर्दा पनि वावाही पाएका छन् । त्यसमध्ये एकजना बावुराम हुन् । विगतमा माओबादीभित्रको मोहन बैद्य पक्षधरले लिएको नीति राम्रो नराम्रो जे सुकै होस् तर उनीहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि प्रचण्डमाथि दवाव बडाउन बाबुरामसँग सहकार्य अगाडि बढाउँदा उनका लागि प्रधानमन्त्री बन्ने अवसर जुटेको हो । तर, प्रधानमन्त्री बनेको दिनदेखि त्यो पक्षलाई उनले पुरै बेवास्ता गरे । बैद्य पक्षका लागि एउटा राम्रो मन्त्रालय पनि दिएनन् । उनीहरुका लागि छुट्याईएको केही मन्त्रालयमा समेत विना हिच्किचाहट आफ्ना वा पार्टी अध्यक्षका मान्छे भर्ना गरे । हाम्रा मिडियाले यसमा भट्टराईको धोकेवाज चाला र उनमा रहेको नैतिकताको खडेरी देखेनन् । लडाकुका नाममा सरकारबाट निकाशा भएको करोडौं रकमको दुरुपयोग र संस्थागत भ्रष्टाचारमा माओबादीबाट अर्थमन्त्री र प्रधानमन्त्री बनेका वाबुरामको कुनै दोष पनि तीनले देखेनन् उल्टै समाचारका शिर्षकहरुमार्फत थपडी बजाईराखे । 

नेता भनेको आफैं काम गर्ने भन्दापनि काम गराउने व्यक्ति हो । अरुलाई सके फकाएर नभए हप्काएर पनि  पनि काम लिनसक्ने व्यक्तिमात्रै नेता हो । तर, केही दिनभित्रै प्रधानमन्त्री पदबाट बाहिरिने स्थितीमा पुगेका उनले बालुवाटार छोडेका दिन आफुले काम गर्न खोजेको तर पार्टीभित्र र बाहिरबाट असहयोग भएकोले गर्न नसकेको बताउनेछन् । अनि, संञ्चारमाध्यमले उनलाई नेतृत्व क्षमता नभएका व्यक्ति भन्ने छैनन् वरु मोहन बैद्यहरु, काँग्रेस–एमाले र अन्य केहीको असहयोगका कारण बाबुरामले काम गर्न पाएनन् भन्नेछन् र उनको वावाही भईरहने छ । बाबुरामका सवालमा सत्य के हो भने सतही पत्रकारिताको फाईदा उठाएर सफल राजनीतिज्ञ कहलाएको भएपनि उनी संभवतः इतिहासकै सवैभन्दा असफल पात्र हुन् । त्यतिमात्र नभई उनलाई राम्रो छवि भएको र असल व्यक्ति भन्ने आधार समेत उनैको व्यवहारका कारण समाप्त भएको छ ।  

२०६९ असार १७ गतेको राजधानी दैनिकमा प्रकाशीत