Sunday, June 7, 2015

राहत, पुनस्र्थापना, पुनर्निर्माणमा बजेट


गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका थप भूकम्पीय धक्काहरूका कारण मृत्यु हुनेको संख्या साढे ८ हजार नाघिसकेको छ । यो संख्या १० हजारसम्म पुग्न सक्छ । घाइतेको संख्या करिब २० हजार पुगेको छ । सरकारी तथ्यांकमा नआटाएका घाइतेको संख्या पनि ठूलै हुन सक्छ । व्यक्तिका झन्डै ५ लाख घर पूर्ण रूपमा क्षतिग्रस्त भएको सरकारले उल्लेख गरेको छ भने झन्डै ३ लाख घर भत्किएका र चर्किएका छन् । सरकारले मृतकका परिवारलाई राहतस्वरूप रु. १ लाख र काजक्रिया खर्च ४० हजार दिने घोषणा गरेको छ । घर भत्किएका परिवारको पुनस्र्थापनाका लागि वर्षा मौसम सुरु हुनुअघि नै अस्थायी बसोबासको व्यवस्था गर्ने संकल्प पनि सरकारले गरेको छ । त्यसैगरी घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि प्रत्येक घरको रु. २ लाखका दरले सहयोग उपलब्ध गराउने घोषणा पनि गरिएको छ । भूक्षयका कारण बस्नै नहुने भएका सिन्धुपाल्चोक र दोलखालगायत जिल्लाका कतिपय गाउँलाई अन्यत्र सार्ने निर्णय पनि सरकारले गरेको छ । यी घोषणा कार्यान्वयनका लागि नै गरिएका हुन् भने चालू आर्थिक वर्षबाटै नेपालको केन्द्रीय बजेटको संरचनामा परिवर्तन आउनेछ ।