Thursday, July 26, 2012

न साम्यवादी, न लोकतन्त्रवादी


अनिरुद्र न्यौपाने
सिद्धान्ततः समाजवाद सवै वर्गका जनतामा आत्मसम्मानपुर्वक वाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्ने राजनीतिक व्यवस्था हो भने साम्यवाद गरिवहरूले सत्ता सञ्चालन गर्ने व्यवस्था हो । नेपालमा साम्यबादी व्यवस्था स्थापनाका नाममा भईरहेको प्रजातान्त्रिक व्यवस्थाका खिलाप छेडिएको माओबादीको वाह्र वर्षे जनयुद्धले गरिवको सम्मानपुर्वक जिउन पाउने अधिकारमा झन् नकरात्मक असर पार्यो । तर, वाह्र हजारभन्दा बढिको ज्यान जाने गरी भएको सो हिंसात्मक आन्दोलनको औचित्य पुष्टि भएन । माओबादी युद्धका कारणले विकासको स्वभाविक गति अवरुद्ध भयो । हजारौं सोझा सादा र गरिव जनता गाउँबाट विस्थापीत भए । त्यतिकै संख्यामा युवाहरू विदेशीए । माओबादी युद्ध हुनुपुर्व भूमिहिन बाहेक सबै गरिवका घरमा पनि सानो मकैको कुन्यू र केही थोरै भएपनि कोदो हुन्थ्यो तर युवाहरूमा गाउँमै बसेर मेहनत गर्ने जाँगर माओवादीले खोसिदिएकोले अहिले पहाडमा मकै र कोदोको खेति लाग्दैन । माओबादी युद्धको प्रभावबाट मुक्त हुन कतिपय निम्न मध्यम बर्गीय परिवार गाउँका जग्गा बाँझो राखेर मजदुरी गर्न शहर पसे । परिणामतः ग्रामीण अर्थतन्त्र ध्वस्त भएको छ । गरिवलाई माओबादीले आक्रमण गरेको थिएन तर तीनलाई युद्धमा ढाल बनाएको थियो जसले उसबाट न नयाँ भविश्य पाए नत उनीहरूमा माटोलाई मायाँगर्ने जाँगर नै बाँकी रह्यो । साम्यबादका लागि गराईएको माओबादी युद्धले हजारौं महिलालाई विधुवा र दशौं हजारलाई टुहुरा बनाउने तथा प्रजातन्त्रको स्वभाविक प्रतिफलको उपभोग गर्ने अधिकारबाट गरिव जनतालाई वञ्चित गराउने बाहेक अर्को कुनै उपलव्धी दिएन । 

जनतालाई आधारभूत मौलिक हक भएको, आवधिक निर्वाचन हुने र स्थानीय निकायहरूमा समेत प्रजातन्त्रको व्यापक अभ्यास भईरहेको प्रजातान्त्रिक व्यवस्थाका बिरुद्ध हतियार उठ्नु नेपाल र नेपालीका लागि दुर्भाग्य थियो । एउटा गाविसमा चार दर्जन प्रतिनिधी अर्थात् हरेक टोलमा एकजना निर्वाचित प्रतिनिधि चुनिने अत्यन्त सुन्दर प्रजातान्त्रिक व्यवस्थाका बिरुद्ध माओबादीले हतियार उठाएको थियो । सबैभन्दा पहिले उसको आक्रमणको तारो बनेका गाउँका निर्वाचित जनप्रतिनिधी नै थिए । प्रजातन्त्रमा जनताका प्रतिनिधीले राज्यको शासन संचालन गर्ने हुनाले आफूले मनलाग्दी गर्न नपाएकोमा प्रजातन्त्र पक्षधर दलहरूप्रति रुष्ट राजदरवार र यहाँ भरपर्दो परम्परागत शक्ति रहँदासम्म राष्ट्रियता कमजोर पार्न र यहाँभित्र खेल्न नपाईने बुझेका देश बाहिरका शक्ति दुवैले माओबादीको युद्धमा सहयोग गरेको र प्रजातन्त्र पक्षधर शक्तिहरूले पनि प्रजातन्त्रिक व्यवस्थाले अपेक्षा गरे अनुरुपको भूमिका निर्वाह गर्न नसकेकोले नेपालमा प्रजातन्त्रविरोधी सशस्त्र आन्दोलन फस्टाएको घटानाक्रमले पुष्टि गरिसकेको छ । माओबादीको युद्धमा मलजल गर्ने देश भित्र र बाहिरका दुबै शक्तिको अपेक्षीत भलो हुन त सकेन तर सो युद्धले निर्माणका क्रममा रहेको प्रजातान्त्रिक संस्कार ध्वस्त पार्दै राजनीतिक अराजकता ल्याउँदा नेपाल कमजोरचाहिं भएकै छ । आजसम्म आईपुग्दा गरिवका नाममा प्रजातन्त्रका बिरुद्ध आन्दोलनको नेतृत्व गरेको दलका सर्वोच्च नेताहरू नै आफूले मुलुकमा बसाएको गलत संस्कारको सिकार भएका छन् । अर्थात्, गरिवको झुपडिबाट आएका कार्यकर्ताबाट गरिवकै नाममा राजनीति गरिरहेका प्रचण्ड र बाबुराम भट्टराईमाथि आक्रमण भएको छ । यो माओबादी युद्धले भित्र्याएको चरम अराजकताको परिणाम हो । 

हुनत, माओबादी युद्धबाट विकसित राजनीतिक परिस्थितिका कारण निरंकुश राजाका विरुद्ध आम जनता एक भएर सडकमा उत्रने बातावरण बन्यो र देशमा गणतन्त्र स्थापना भयो तर पुनः अर्को राष्ट्राध्यक्ष जनताबाटै आउने कुराको आधार तयार हुन सकेको छैन । यो नहुनुमा सबैभन्दा बढि जिम्मेवार माओबादी नै छ । माओबादीसँग १२ बुँदे दिल्ली संझौता गरेका गिरिजाप्रसाद कोईरालामा माओबादी राष्ट्रवादी शक्ति रहेको र उसलाई प्रजातान्त्रिक शक्तिमा रुपान्तरण गर्न पनि सकिने विश्वास थियो । अहिले आएर त्यो विश्वास पनि गलत सावित हुँदैछ । यो दलको तल्लो तहसम्म प्रजातन्त्रिक आचरणको अभाव रहेको पछिल्लो विस्तारित वैठकमा देखिएको अराजकताले प्रस्ट पारेको छ । माओबादीका नेताको छुद्र भाषण र अपारदर्शी कार्यसैली प्रजातान्त्रिक आचरण हिनताको अर्को प्रमाण हो । सरकार बनाउन र टिकाउनका लागि देश भित्र र बाहिर गरेका संझौताहरूले गर्दा उसलाई राष्ट्रबादी शक्तिको रुपमा विश्वास गर्ने आधार पनि बाँकी छैन । 

युद्धका दौरान धेरै बाध्यता र थोरै आसले गरिव र किसानले आप्mनो गाँस काटेर माओबादीलाई खुवाए । आज सो दलको सिद्धान्तकार वताउने बिद्यावारीधि प्राप्त बाबुराम भट्टराई नेतृत्वको सरकारको वदमासीका कारण खेतीको सिजनमा तिनै किसानले रासायनिक मल पाएनन् । मलको सहज आपूर्ति नहुनुमा यदि बाबुराम भट्टराई स्वयंको होईन भने उनका सहयोगीहरूको खानेदाऊ जिम्मेवार थियो । साम्यबाद स्थापनाका लागि रक्तपातपुर्ण युद्ध गरेको दलका नेताको सरकार कालो सुचिमा रहेको अमुक कम्पनीसँग मल खरिद गर्नकै सवै प्रक्रियामा ढिलाई गरी मलको हाहाकार सिर्जना गराउँछ भने त्यसलाई आम जनताले कसरी बुझ्ने ? यदि मलमा कमिशनको खेल थिएन भने पक्कै पनि त्यस्तो हाहाकार हुने थिएन । आप्mनो निजि सम्पति नभएका माओबादी नेताका जिवनसैली ठूल्ठूला उद्योगपति सरह हुनुसँग पक्कै पनि यी र यस्ता कमिशनका खेलको सम्बन्ध छ । माओबादीबाट नेपाली जनताको हित संभव ठानेका यो पार्टीका कार्यकर्ताले भ्रष्ट मनोवृत्ति र अस्वभाविक जिवनसैली बनाएका नेताहरूमाथि औंला मात्रै नठड्याएर लाठि मुंग्री नै प्रहार गर्ने अवस्था आउनुमा सरकार र पार्टीको नेतृत्वमा रहेकाहरुका यस्ता कुकर्म जिम्मेवार छन् । 

दुईवर्षअघि माधव नेपाल नेतृत्वको सरकार ठाल्नका लागि माओबादीले जवरजस्ती गाउँगाउँबाट गरिवहरूलाई सडकमा उतार्यो । सडकमा उग्र राष्ट्रियताको नारा घन्कायो । प्रचण्डले खुलेरै नेपालको आन्तरिक मामिलामा छिमेकीको हस्तक्षेपको विरोधमात्रै गरेनन्, नेपालको सार्वभौमसत्ता लिल्लीमा पुगेको आशय व्यक्त गर्न पनि भ्याए । टुडिंखेलको भाषण मार्फत उनले काठमाडौंमा सानो घर बनाएर बसेका मध्यमवर्गिय समाजलाई सुकिला–मुकिलाको बर्गमा राखेर उनीहरूको अश्थित्व समाप्त पार्ने घोषणा गरे । प्रजातन्त्रिक पद्धतिबाट मुलुकको प्रधानमन्त्री भएको सार्वभौम मुलुकको ठूलो नेताको त्यस्तो अभिव्यक्ति सामान्य नागरिकका लागि पाच्च थिएन तर गरिवलाई आफ्नै दलमा राखिराख्न त्यो नै उत्तम उपाए भएको उनले ठाने र त्यस्तो गरे । त्यसको दुईवर्षपछि उनको पार्टी नेतृत्वको सरकार कसको तागतमा निर्माण भयो र आजसम्म थेगिईरहेको छ ? उनी र उनको दलका अन्य नेता प्रायः गरिवसँग छन् कि सुकिलामुकिलासँग ? यस्ता प्रश्न पछिल्लो विस्तारित वैठकमा माओबादीका कार्यकर्ताले नै उठाए । 

माओबादी आन्दोलनले भ्रष्टहरूको नयाँ सञ्जाल तयार पार्यो । सरकारी ढूकुटीमा नयाँ मान्छेहरूको पहुँच पुग्दा राजनीतिबाट अकुत सम्पति आर्जन गर्नेहरूकोको संख्यामा व्यापक बृद्धि भएको छ । सरकारी स्रोत र साधनको व्यापक दुरुपयोग भईरहेको छ । यस्तो दुरुपयोग रोक्ने राज्यको मुख्य अंग, संसद छैन । अन्य  संवैधानीक निकाय पनि मरणासन्न अवस्थामा छन् । जनतामा निराशामात्र छ । तर, यो अवस्थालाई माओबादीका नेताले आफ्नालागि सवैभन्दा अनुकुल अवस्था ठानेका छन् । माओबादी नेतृत्वको सरकार कामचलाउ छ तर बदमासी गर्नका लागि उ कार्यकारी छ । जस्तोसुकै भ्रष्ट सरकार चलाए पनि र सरकारसँग जे जस्ता कमीशनका खेल जोडिएपनि र गरिवले जति दुःख पाएपनि वावुराम स्वच्छ छविका व्यक्ति कहलाएकै छन् । 

अव माओबादी साम्यबादी पार्टी पनि रहेन । समाजबादी पार्टी पनि रहेन । राष्ट्रबादी पार्टी भन्नका लागि पनि कुनै आधार फेला पर्दैन । उ न प्रजातन्त्रबादी बन्न सक्यो । तर, पनि उ आजपनि आफूलाई सवैभन्दा ठूलो राजनीतिक पार्टी ठान्दछ । अन्य राजनीतिक दलहरूका पनि सकरात्मक पक्ष त कमै छन् तर अरु दलहरूमा भन्दा सिद्धान्त र व्यवहार विचको खाडख माओबादीमा बढि छ । भ्रष्ट दलहरूको विचमा अर्को महाभ्रष्ट दल थप्नका लागि नेपाली जनताले रगत पसिना बगाउनु पर्ने थिएन । माओबादीका केही नेतालाई सत्तामा पुर्याउन र राष्ट्रिय ढुकुटीका साँचो बुझाउनका नेपाली जनताले खर्चिएको समय र परिश्रम प्रजातान्त्रिक व्यवस्थामा देखिएका कमी कमजोरी हटाउनमा खर्चिन पाएको भए भए पक्कै पनि देशमा निकै सकरात्क परिवर्तन भईसक्दो हो । जे होस्, माओबादीका नेताले यो पार्टी नेपाल र नेपालीका लागि आवस्यक छ भन्ने पुष्टि गर्न सकुन् र माओबादीका लागि सत्ताको बाटो खोलीदिएको कारणले नेपाली जनताले अहिलेजस्तो पश्चाताप गरिराख्न नपरोस् ।  


 २०६९ श्रावण १२ गतेको राजधानी दैनिकमा प्रकाशीत