Monday, June 4, 2012

पहिचान गुमाउँदै काँग्रेस


             अनिरुद्र न्यौपाने
विजयकुमार गच्छादार लगाएतका काँग्रेसका केही नेता संविधानसभाको निर्वाचनको मुखमा पार्टी छोडेर क्षेत्रीय राजनीतिमा लाग्दा तत्कालीन काँग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘काँग्रेस समुद्र हो जसबाट एक लोटा पानी निकाल्दैमा केही फरक पर्दैन’ । महन्थ ठाकुर, विजय गच्छादार, जेपी गुप्ता लगाएतका मुलुकको प्रजातान्त्रिक आन्दोलनमा ठूलै योगदान भएका नेताहरू काँग्रेसबाट वाहिरिएको घटनालाई काँग्रेस र कोईरालाले त्यति सामान्य रुपमा लिनु हुँदैनथ्यो । उनीहरूलाई पार्टीमा रोक्न संभव त थिएन तर तिनले पार्टी छोड्नाको कारणको खोजी भने काँग्रेसले गर्नैपथ्र्यो । काँग्रेसले चुनाव हार्यो तैपनि त्यसको समिक्षा गरेन । संविधानसभाले संविधान निर्माण गर्नुपर्ने अन्तिम घडिसम्म आईपुग्दा काँग्रेसका नेताहरू अखण्ड चितवन, अखण्ड सुदुपश्चिम र मध्यपश्चिम लगाएतका आन्दोलनमा लागे । बाहुन–क्षेत्रीको आन्दोलन पनि काँग्रेसका नेताको आन्दोलन बन्यो । जातीय आन्दोलनमा त झन् यतिसम्म भयो कि पार्टीले प्रजातन्त्रका विरुद्ध अनेक प्रपञ्च गररहेका ठानेको माओबादी अध्यक्ष प्रचण्डसँग जातीय राज्यका लागि विन्तिपत्र हाल्न पनि  काँग्रेसका नेतालाई लाज भएन । काँग्रेसका नेताका यस्ता चरित्रका कारणले माओबादीलाई जातीय आधारको संघीयता र लाकतन्त्रविरोधी संविधानका पक्षमा जान र भईसकेका सहमति तोड्न प्रेरित गर्यो । परिणामतः चारवर्षे कार्यकालमा पनि संविधानसभाले नयाँ संविधान वनाउन सकेन । 

संविधानसभाकै चुनाव त अव कुनै हालतमा पनि संभव छैन र त्यसको तुक पनि छैन तर अवको निर्वाचनमा काँग्रेसी नेताहरू मधेसबादी दलमामात्र नभई सुदुरपश्चिम पार्टी, वाहुन–क्षेत्री पार्टी, नेवार पार्टी, गुरुङ पार्टी, राई–लिम्बु पार्टी, हिन्दु पार्टी, क्रिष्चियन पार्टी लगाएतका क्षेत्रीय, जातीय र साम्प्रदायिक दलका नेता भए भने अनौठो मान्नुपर्ने छैन । काँग्रेसका नेतामा प्रजातन्त्रबादी पार्टीको अंग वन्नुको सट्टा झिना, मसिना र सिद्धान्तहिन समुहको नेता हुने रहर किन पलायो त ? काँगे्रसले कहिल्यै समिक्षा नगरेको यो विषयलाई यहाँ थोरै खोतल्ने प्रयास गरिएको छ ।  

२०४८ को आम चुनावमा काँगे्रसले विजय हाँसील गरेपछि अवसरबादीहरू हजारौंको संख्यामा यो पार्टीमा प्रवेश गरे । त्यसपछि पार्टीको नेतृत्व तहमा रहेकाहरूले प्रजातन्त्रको मर्म र पार्टीको आदर्श विपरित योग्यता र क्षमतालाई भन्दापनि चाकडी र चाप्लुसीलाई अवसर वितरणको आधार वनाए । प्रजातन्त्रका लागि लडेका तथा योग्यता र क्षमता भएका असली काँग्रेसहरूको अवसरमा पहुँच पुगेन । प्रजातन्त्रबादीहरू निराश वन्दै पार्टीवाट टाढिंदै गए र नाम मात्रका काँग्रेसीहरूको हाली मुहाली बढ्दै गयो । प्रजातन्त्रका लागि खुन पसिना बगाएका कार्यकर्ता भन्दा जयनेपाल ठोक्दै आफ्ना घरदैलो चहार्नेहरूलाई नेताहरूले प्रीयपात्र मान्नथालेपछि काँग्रेस वन्नका लागि र वनिसकेपछि पनि तीनका लागि प्रजातन्त्रबादी वन्नुपर्ने आवस्यकता परेन । काँग्रेसका नेतासँग पार्टीप्रति वितृष्णा उत्पन्न भएका कार्यकर्तातिर ध्यान दिने फुर्सद पनि भएन । विस्तारै नवकाँग्रेसीहरूले आफूलाई काँग्रेसका वास्तविक कार्यकर्ताका रुपमा प्रश्तुत गर्नथाले । र, नेतृत्वमा चिनिएका काँग्रेसीहरू नै रहेपनि पार्टीमाथिको खास नियन्त्रणचाहिं पार्टी र प्रजातन्त्रप्रति कुनै मोह नभएका आवसरवादीको हातमा पुग्यो । 

निष्ठा नभएका अवसरबादीहरू त जहिले जता पनि लाग्न सक्छन् । पार्टीभित्रको आन्तरिक द्वन्दका कारणले २०५१ मा मध्यावधी निर्वाचन र त्यसमा काँग्रेसको पराजयपछि ती अवसरबादीकालागि यो पार्टी काम लागेन । २०५४ को स्थानीय चुनावको परिणाम त्यसको प्रस्ट प्रमाण हो । एमालेको आन्तरिक द्वन्दका कारणले तीनलाई  फेरी काँग्रेसतर्फै फर्कनु उपयुक्त लाग्दा २०५६ मा काँग्रेसले पुनः बहुमत ल्यायो । २०४८ मा काँग्रेसले प्रजातन्त्रबादी कार्यकर्ताको आडमा चुनाव जितेको थियो तर २०५६ मा अवसरबादीको स्वार्थमा । २०५८ सम्म आईपुग्दा पार्टीभित्रैबाट प्रजातन्त्रमाथि घात हुनु तीनै घुसपैठीयाहरूका कारण काँग्रेसको प्रजातन्त्रबादी धार कमजोर भईसक्नु थियो । काँग्रेसका संसदीय दलका नेता एवं मुलुकका प्रधानमन्त्री समेत पार्टीका महत्वपुर्ण नेताहरूलाई प्रभावमा पारी संकटकालन नलगाउनका लागि पार्टीले दिएको निर्देशन नमान्न र प्रजातन्त्रबिरोधीलाई साथ दिन लगाउने तीनै अवसरबादीहरू हुन् । तर, त्यसवेला केही नेतालाई पार्टीको साधारण सदस्यबाट निस्कासन गर्ने बाहेक दरवारको षड्यन्त्रमा पार्टी नेता पर्नुका पछाडिको कारण खोजी भएन । दरवारको षड्यन्त्रमा पार्टीका नेताहरू फस्नु कारण नभई दलभित्र पसेका अवसरबादीहरूले लगामले उनीहरूलाई कसिसक्नुको नतिजा थियो । परिणामलाई कारण ठानेर त्यसबेला काँग्रेसले गरेको गल्तिको अर्को नतिजा थियो पाँच बर्षपछि महन्थ ठाकुर, बिजय गच्छादार लागाएतका नेताको वहिरगमन । आजसम्म आईपुग्दा नेताहरूमा पार्टीे र प्रजातन्त्रभन्दा जातीय र क्षेत्रीय राजनीतिप्रति ज्यादा  विश्वास जागेको पनि दलका नेताको खास आधार प्रजातन्त्र र प्रजातन्त्रप्रेमी कार्यकर्ता भन्दा अवसरबादी र तिनका स्वार्थ हुनु नै हो । 

आपूm शक्तिमा हुँदा समाजको प्रजातान्त्रिक रुपान्तरण काँग्रेसको एजेण्डा बनेन । सत्ता वाहिर रहँदा पनि उसकोे ध्यान त्यसतर्फ गएन । त्यसले काँग्रेसमात्र कमजोर भएन समग्र प्रजातान्त्रिक जनमत नै कमजोर भयो । काँग्रेस कार्यकर्ता र आम नागरिक प्रजातन्त्रबारे प्रशिक्षीत हुनु त कता हो कता उल्टै अतिबादी र अवसरबादीको संगतका कारण काँग्रेसका नेताहरूको प्रजातन्त्रप्रतिको प्रतिवद्धतामा नै कमी ल्यायो । पद र पैसाको भोकका अगाडी प्रजातन्त्रको मुल्य र मान्यता निरिह बन्दै गयो । परिणामतः अहिले स्वयं प्रशिक्षित केही नेता र कार्यकर्ता बाहेक काँग्रेसमा प्रजातन्त्रलाई साच्चै मायाँ गर्नेहरूको संख्या नगन्य छ । 
बाह्रौं महाधिवशनमा त धेरैको संख्यामा प्रजातन्त्रबादी पुरानो पुस्ताले काँग्रेसको सदस्यता नै नविकरण गरेन । सदस्यता नविकरण गरेका केहीलाई पनि पार्टीको प्रतिनिधी बनाईएन । युवा प्रतिनिधित्वका नाममा पार्टीमा छिरेका र प्रजातन्त्र कुन चराको नाम हो थाहा नभएका नवप्रवेशीहरू महाधिवेशनमा निर्णायक भए । गुण्डा परिचालनको क्षमताका कारण नेता बनेकाहरू पनि धेरै छन्, काँग्रेसमा । महन्थ ठाकुर जस्तो इमान्दार ठानीएको व्यक्तिले त आफ्नै इतिहास विर्से भने अराजक भिडबाट नेता बनेकाहरू जतिखेर पनि पार्टी छोडेर जातीय र क्षेत्रीय समुहहरूमा आवद्ध हुदैनन् भन्ने आधार के ? यसले काँग्रेसको नेतृत्वमा समाजको प्रजातान्त्रिक रुपान्तरण हुनु त कता हो कता प्रजातान्त्रिक पार्टीको रुपमा यसको अस्थित्व नै समाप्त हुने खतरा देखाउँछ । व्यक्ति सर्वोच्च हुने प्रजातान्त्रिक व्यवस्थाको ओकालतकर्ता दलका सांसदहरू अमुक समुहको अग्राधिकारका लागि घोर अप्रजातान्त्रिक तत्वहरूले तयार गरेको दस्तावेजमा हस्ताक्षर गर्न पुग्ने अवस्थालाई के भन्ने ? 

अहिले काँग्रेसका धरै नेता तथा कार्यकर्ताको अभिव्यक्ती माओबादीका नेताको जस्तो उत्तेजक छ । पार्टीको आदर्शवाट यताउता गर्नेहरूभन्दा भिडको ताली पाउने लालसामा विपक्षीहरूको सत्तोसराप गर्नेहरू पार्टीभित्र वढि लोकप्रीय छन् । हुनत, काँग्रेसले गणतन्त्रमा जाने निर्णय पनि भिड हेरेरै गरेको हो तर त्यसो भन्दैमा काँग्रेसका नेता कम्यूनिष्टहरूजस्तै नाङ्गिएर प्रस्तुत हुने हो भने प्रजातान्त्रिक संस्कार बसाउने कसले ? विद्यार्थी राजनीतिबाट आएका तथा प्रजातन्त्रको मूल्य र मान्यताको सैद्धान्तिक ज्ञान पनि भएका नेताहरूले राजनीतिमा प्रजातान्त्रिक संस्कार बसाउनमा महत्वपुर्ण भूमिका खेल्नुपर्ने हो तर तीनका अभिव्यक्तिमा प्रजातन्त्रबादीको झलक नदेखिनु राम्रो कुरा होईन । झ्यालबाट पार्टीमा प्रवेश गरेकाहरूबाट त झन् सालीनता, नैतिकता, प्रजातान्त्रिक आचरण तथा समाजको प्रजातान्त्रिक रुपान्तरणको अपेक्षा कसरी गर्नु ? 

संविधानसभाबाट संविधान नवनेपछि लोकतन्त्रको भविश्य अनिश्चित वनेको छ । माओबादीले उव्जाएको र उसकै नेतृत्वमा हुर्केको जातीय र क्षेत्रीय राजनीतिले दलीय र सैद्धान्तिक आधारको राजनीतिलाई विस्थापीत गर्दैगर्दा प्रजातन्त्र र राष्ट्रिय एकता दुवै जोखिममा परेका छन् । आजपनि मुलुकका प्रजातन्त्रबादीहरूले विश्वास गर्ने काँग्रेस बाहेक अर्को दल नभएको अवस्थामा यो पार्टीले निकै दह्रो खुट्टा टेक्न सकेन भने मुलुकले यो अवस्थाबाट पार पाउन गार्हो छ । पार्टीका नेता भनिएकाहरूको प्रजातन्त्रप्रतिको वर्तमान प्रतिवद्धता के हो ? उनीहरू प्रजातन्त्र र मुलुकको भविश्य चाहन्छन् कि एउटा जातीलाई माझी र अर्को जातिलाई माछा बनाएर मुलुकलाई हाईटी वा लाईबेरीया बनाउन चाहन्छन् ? वाह्य शक्तिद्वारा संचालितहरू र अवसरवादीहरूको लहैलहैमा कद्न छोडेर यसका वारेमा गम्भिर बहस काँग्रेसले गर्नैपर्छ । अव तुरुन्त समाजको प्रजातान्त्रिकरणका लागि काँग्रेसले हस्तक्षपकारी भूमिका खेल्नुपर्छ ताकि सवै जात–जाति, बर्ग, क्षेत्र, लिंग र संप्रदायका जनता प्रजातन्त्रले नै आफुहरूको सवैभन्दा बढि हित गर्छ भन्नेमा विश्वस्त हुन् । अन्यथा, न रहन्छ काँग्रेस न रहन्छ प्रजातन्त्र ।    

२०६९ जेष्ठ २३ गतेको राजधानी दैनिकमा प्रकाशीत